प्रहरी हस्तक्षेपपछि राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा
काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेप र धरपकडको बिरोध गर्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। पार्टीले मंगलबार भद्रकाली लगायत क्षेत्रमा गरेको प्रदर्शनमा राप्रपा नेताकार्यकर्ता र सुरक्षाकर्मीबिच झडप भएको थियो।
झडपलाई राप्रपाले सरकारको असहिष्णु व्यबहार र बलमिच्याइ भनेको छ। प्रहरीको लाठीचार्जबाट कार्यकर्ता घाइते भएपछि सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना ४० सुत्रीय मागमा थप एक बुँदा थपेर गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।
यसैगरी उनले दलहरू सच्चिएर नयाँ सहमति र सम्झौता गर्न तयार नहुने हो भए भाग्न तयार हुनुपर्ने समेत चेतावनी दिए ।राप्रपाले सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै देशभरका नेताकार्यकर्ता बोलाएर प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीका फोहरा र लाठीचार्ज गर्दा केही कार्यकर्ता घाइते समेत भएका थिए।
सभालाई गाडी माथी बसेरै सम्बोधन गरेका अध्यक्ष लिङ्देनले भने, ‘म दलहरूलाई चेतावनी दिएर भन्न चाहन्छु,तपाईंहरुले अहिले निषेधित क्षेत्र तोकेर हामीलाई रोक्नुभएको छ। हेक्का रहोस अब तपाईंहरु त्यै क्षेत्र भित्र सिमित हुनुपर्ला बाहिर त हामी जागिसक्यौ,जनता जागिसके ।’