पोखराका दुई स्थानबाट १४ किलो गाँजासहित तीनजना पक्राउ

पोखरा, २६ चैत । पोखराबाट प्रहरीले गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले गाँजासहित पाेखराका दुई स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।
आइतबार बिहान पोखरा महानगरपालिका–२७ तालचोकबाट गोरखाको सुलिकोट गाउँपालिका–४ स्थायी घर भएका २४ वर्षीय मदन नेपाली गाँजासहित पक्राउ परेका हुन् । पृथ्वी राजमार्ग हुँदै पोखरातर्फ आउँदै गरेको ग १ च ५१३२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीमा लुकाएको अवस्थामा ९ किलो ८०० ग्राम गाँजा बरामद भएको हो।
त्यसैगरी कास्कीकै अन्नपूर्ण गाउँपालिका–९ मौजाबाट चार किलो एकसय ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराकै ३७ वर्षीय हेमन्त भट्टराई र २५ वर्षीय विनोद थापा रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी कसुरमा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

