ठाकुर र क्रुणाल चम्किँदा लखनउको प्रभावशाली जीत
काठमाडौं, २६ चैत । तीव्र गतिका बलर यश ठाकुर र स्पिन बलर क्रुणाल पान्ड्याले शानदार बलिङ गरेपछि लखनउ सुपर जायन्ट्सले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा तेस्रो जीत निकालेको छ । आइतबार भएको खेलमा गुजरातलाई ३३ रनले हराउँदै लखनउले थप २ अंक जोडेको हो ।

लखनउले दिएको १६४ रनको विजयी लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा १३० रनमा समेटियो । ओपन साइ सुदर्शनले सर्वाधिक ३१ रन बनाउँदा राहुल तेवातियाले ३० रन बनाए । कप्तान शुभमन गिलले १९ रन बनाए ।

लखनउका यश ठाकुरले ३.५ ओभरमा ३० रन दिएर ५ विकेट हात पारे । त्यस्तै क्रुणाल पान्ड्याले ४ ओभरमा ११ रन दिएर ३ विकेट लिए । नवीन उल हक र रवि बिश्नोइको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । लखनउका मार्कस स्टोइनिसले सर्वाधिक ५८ रन बनाए । कप्तान केएल राहुलले ३३ तथा निकोलस पूरनले अविजित ३२ रन बनाए ।
गुजरातका उमेश यादवले ३ ओभरमा २२ रन दिएर २ विकेट लिए । दर्शन नालकन्डेले २ ओभरमा २१ रन दिएर २ विकेट लिए । राशिद खानले ४ ओभरमा २८ रन दिएर १ विकेट लिए ।
यस जीतसँगै ४ खेलमा ३ जीतसहित ६ अंक जोडेको लखनउ अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने ५ खेलमा दुई जित मात्र निकालेको गुजरात ४ अंकसहित सातौं स्थानमा रहेको छ ।