आइपिएल: मुम्बईको पहिलो जीत, दिल्लीको चौथो हार

काठमाडौं, २५ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आइपिएलमा मुम्बई इन्डियन्सले पहिलो जीत निकालेको छ । आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई रनले हराउँदै मुम्बईले अंकको खाता खोलेको हो ।
मुम्बईले दिएको २३५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले पूरा २० ओभर खेल्दै ८ विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो । ट्रिस्टन स्टब्स ७१ रनमा अविजित रहेपनि टोलीको जीतका लागि पर्याप्त हुन सकेन । त्यसअघि पृथ्वी शले ६६ र अभिषेक पोरेलले ४१ रन बनाए ।
मुम्बईका लागि गेराल्ड कोट्जीले ४ ओभरमा ३४ रन दिएर ४ विकेट लिए । जसप्रीत बुमराहले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । रोमारियो शेपहर्डले ४ ओभरमा ५५ रन दिएर १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २३४ रनको विशाल योगफल बनाएको थियो । रोहित शर्माले सर्वाधिक ४९ रन बनाए । त्यस्तै टिम डेभिड ४५ रनमा अविजित रहँदा इशान किशनले ४२ तथा रोमारियो शेपहर्डले १० बलमा विस्फोटक ३९ रन प्रहार गरे । अन्तिम ओभरमा ३२ रन जोडेको मुम्बईले अन्तिम ४ ओभरमा ९६ रन जोडेको थियो ।
दिल्लीका अक्षर पटेलले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिए । एनरिच नोर्त्जेले ४ ओभरमा ५५ रन खर्चेर २ विकेट निकाले । खलील अहमदले १ विकेट लिए ।
यस जीतसँगै ४ खेलमा १ जीतसहित २ अंक जोडेको मुम्बई अंकतालिकामा आठौं स्थानमा रहेको छ भने ५ खेलमा एक जित मात्र निकालेको दिल्ली २ अंकसहित पुछारमा झरेको छ ।

