गण्डकीमा गठबन्धनलाई सकस !

पोखरा, २५ चैत । केन्द्रमा फेरिएको सत्ता गठबन्धनको टिमलाई गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन भने ‘फलामको च्युरा’ चपाउनु जस्तै भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजिनामा दिएर मार्ग प्रसस्त गरिसक्दा पनि नयाँ गठबन्धनले सरकार बनाउन सकेको छैन ।
भागबन्डामा नेकपा एमालेको भागमा आइपरेको गण्डकीको सत्ता चलाउन मुख्यमन्त्री बन्ने दौडमा रहेका एमाले नेता खगराज अधिकारीले बहुमत सांसदको हस्ताक्षर लिएर मुख्यमन्त्री दावी गर्न प्रदेश प्रमुख समक्ष जान सकेका छैनन् ।
गण्डकीमा सत्ताको चाबी लिएर बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नया गठबन्धनलाई सहयोग नगर्ने बताएपछी अधिकारीको पक्षमा एमालेका २१ र माओवादीका सभामुख समेत ८ गरि जम्मा २९ सांसद मात्रै देखिन्छन् । गण्डकी प्रदेश सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ। राप्रपा संग २ सांसद छन् । राप्रपाले ओके गरेमा मात्रै नयाँ सरकार बन्न सक्छ।
६० सदस्य रहेको गण्डकी प्रदेशमा नेपाली कांग्रेसको २७ सांसद छन् । स्वतन्त्र सांसद दिपक मनाङ्गेले साथ दिदा कांग्रेससंग पनि २८ मात्रै हुन्छ। राप्रपाले यता समर्थन गरेमा कांग्रेसलाई १ मत पुग्दैन। त्यसका लागि डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टका सांसद फणीन्द्र देवकोटाको मत कांग्रेसले पाउने हुनसक्छ । यद्यपि चुनावमा फणीन्द्रले माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेकोले उनलाई माओवादीले आफ्नो पक्षमा गणना गरेको छ।

