राजस्थानको अपराजित यात्रा कायमै, बेङ्गलुरुको चौथो हार
कोहलीको शतक छाँयामा पार्दै बटलरको म्याच विनिङ शतक
काठमाडौं, २५ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आइपिएलमा राजस्थान रोयल्सले लगातार चौथो जीत निकालेको छ । शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई ६ विकेटले हराउँदै राजस्थानले अपराजित यात्रा कायमै राखेको हो ।
बेङ्गलुरुले दिएको १८४ रनको विजयी लक्ष्य राजस्थानले १ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । राजस्थानका लागि ओपनर जस बट्लरले अविजित शतकीय पारी खेले । बट्लर ५७ बलमा चौका र छक्काको मद्दतले १०४ रनमा अविजित रहे । त्यस्तै कप्तान सन्जु सामसनले रन बनाए । शून्यमै पहिलो विकेट गुमेपछि सामसन र बट्लरले मिलेर दोस्रो विकेटका लागि १४८ रनको साझेदारी गरेका थिए ।
बेङ्गलुरुका रीश टोपलीले ४ ओभरमा २७ रन दिएर २ विकेट लिए । मोहम्मद सिराजले ४ ओभरमा ३५ रन दिएर १ विकेट लिए । यश दयालले ४ ओभरमा ३७ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेङ्गलुरुले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । विराट कोहलीले अविजित शतकीय पारी खेले । उनी ७२ बलमा १२ चौका र ४ छक्कासहित ११३ रनमा अविजित रहे । कप्तान फाफ डुप्लेसीले ४४ रन बनाए । राजस्थानका युजभेन्द्र चहलले २ तथा नान्द्रे बर्गरले १ विकेट लिए ।
यस जीतसँगै ४ खेलमा ४ जीतसहित ८ अंक जोडेको राजस्थान अंकतालिकामा शीर्ष स्थानमा रहेको छ भने ५ खेलमा एक जित मात्र निकालेको बेङ्गलुरु २ अंकसहित आठौं स्थानमा छ ।
आइपिएलमा आज:
मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स । समय: दिउँसो ३:४५ बजे
लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स | समय: बेलुका ७:४५ बजे

