वर्ष २०८० मा झण्डै ४५ फिल्म फ्लप !

नेपाली चलचित्र क्षेत्रको लागि वर्ष २०८० लाई फर्केर हेर्दा सुखद देखिएन। कमाइको गणना २०८१ मा हुने भएपनी यही बर्ष रिलिज हुने दुई चलचित्र ‘डिग्री माइला’ र ‘रेड सुटकेस’ (चैत्र ३० मा प्रदर्शन हुने)लाई जोड्दा यो वर्ष नेपाली बक्स अफिसमा ५३ वटा नेपाली चलचित्र रिलिज भएको देखिन्छ। ती मध्य जारी र महाजात्रा सुपरहिट भए भने अन्य ६ वटा चलचित्रले लगानी सुरक्षीत गरेको देखिन्छ।
२०८० बैशाख १ मा दयाहाङ राई अभिनित ‘बिहे पास’ र ‘जारी’ बाट सुरु भएको नेपाली फिल्म प्रदर्शन २०८० चैत ३० मा पनि दयाहाङ कै ‘डिग्री माइला’ रिलिज संगै बर्षको अन्त हुनेछ। दयाहाङदेखि दयाहाङ सम्म यो बर्ष नेपाली फिल्मको लागि त्यति सुखद व्यापार भने भएन । दयाहाङको मात्रै ९ वटा फिल्म रिलिज हुँदा मुस्किलले ४ वटाले निर्माताको पैसा जोगायो। यद्यपि दयाहाङ कै ‘जारी’ सर्बाधिक कमाइ गर्ने चलचित्र बन्यो।
अब चैत ३० मा आउने दयाहाङकै चलचित्र ‘डिग्री माइला’को पनि सुखद व्यापार हुनेमा निर्माण पक्ष ढुक्क छ। तर, बिहे पास, हात्तीछाप, निरफुल, रंगेली जस्ता चलचित्र भने दयाहाङकै भएपनि निर्माता डुबाउनेमै गनिए। दिमाग खराब,दयारानी,नाङ्गो गाउँले भने लगानी सुरक्षीत गरे। दयाहाङ बाहेक पनि परदेशी-२, पशुपति प्रसाद-२ भष्मेडन,उपहार,गोर्खा वारियर जस्ता चलचित्र लगानी उठाउन सफल भए।
यो बर्ष केही झुर फिल्म पनि देखापरे । चैत २३ मा रिलिज भएको शोभित बस्नेत निर्देशित ‘बद्री बहादुर’को अत्तोपत्तो छैन। चलचित्र ‘चित्रा’ हात्तीछाप,बुलाकी,कैदिको पत्र,हलकारा,नाइ नभन्नु ल-६,ए साथी सुन,हुक्का,जय हो,ऐचो पैचो,ए साथी सुन,जिग्री,दुई कदम, रंगेली जस्ता चलचित्रले खासै ब्यापार गरेनन् । त्यसैगरी लुङ्गा,कौसिद,परस्त्री,बगान,अदृश्य,गणपति जस्ता चलचित्र पनि रिलिज भए तर दर्शकको साथ पाएनन् ।

२०८० को वैशाख, भदौ, फागुन र चैत महिनामा सबैभन्दा धेरै नेपाली फिल्म रिलिज भए। अन्य महिनामा भने मुस्किलले ३ वटा नत्र २ वटा मात्रै रिलिज भए। कतिपय चलचित्र त हलमा लागेको समेत दर्शकलाई अत्तोपत्तो भएन। लगानीका हिसाबले धेरै थोरै गरेर ५३ चलचित्र निर्माण गर्न यो बर्ष एक अर्ब भन्दा बढी लगानी भएको देखिन्छ। तर, सुपर हिट र औषत चलचित्रको व्यापार समेत जोड्दा मुस्किलले ८५ करोड हाराहारी उठेको देखिन्छ। त्यसमा पनि सुपरहिट चलचित्र जारी र महाजात्राले मात्रै ३० करोड व्यापार गरेका छन।
यसरीहेर्दा, बर्ष २०८० मा नेपाली चलचित्रको व्यापार सुखद भएन। अझै कतिपय निर्माताले त चलचित्र रिलिजको समयमा सापटी लिएर प्रचारप्रसार खर्च जुटाएका थिए। चलचित्र रिलिज पछि त्यै पैसा समेत उठेन। चैत ३० मा रिलिज हुन बाकी डिग्री माइला र रेड सुटकेस बाहेक अहिलेसम्म प्रदर्शन भएका ५१ वटा फिल्म मध्य जारी,महाजात्रा,दिमाग खराब, नांगो गाउँ, परदेशी २, पशुपति प्रसाद २ भष्मेडन र उपहार मात्र बक्स अफिसमा सफल भएको देखिन्छ।

