दुर्घटनामा घाइते दिदीको उपचार खर्च जुटाउँदै नायिका रेखा थापा

काठमाडौ ।भारतमा भएको सडक दुर्घटनामा घाइते बनेकी कोपिला थापाको उपचार खर्च जुटाउन उनकी बहिनी नायिका रेखा थापाले अमेरिकाबाटै पहल शुरु गरेकी छिन् ।
भारतको पञ्जाबमा भएको सडक दुर्घटनामा कोपिला सहित ३ नेपाली घाइते भएका थिए। नेपाली फिल्मकी चर्चित चरित्र अभिनेत्री कोपिला थापा नायिका रेखा थापाको दिदी (ठुलोबुबाको छोरी) हुन् ।
एक साताअघि एक कार्यक्रममा सहभागी भएर भारतको पञ्चकुलातिर फर्किनेक्रममा थापा चढेको कार ब्रेकफेल भएर २५ फिट तल खसेर ढलानमा बज्रिएको थियो । दुर्घटना लगत्तै स्थानीय गाउँलेले आफ्नै गाढीमा चढाएर उनीहरुलाई चण्डीगढस्थित नेहरु अस्पताल पुर्याएका थिए ।
मोरङ सलकपुर घर भएकी कोपिलाले टेलिचलचित्र र दर्जनौं नेपाली फिल्ममा चरित्र अभिनेत्रीको भूमिकामा अभिनय गरेकी छन् । चलचित्र ‘महापुरुष’मा समेत उनले अभिनय गरेकी थिइन् । दुर्घटनापछि अस्पतालमा उपचार गराइरहेकी कोपिलाको कम्बरदेखि तल नचलेको र ठिक हुन ६, ७ महिना लाग्ने बताइएको छ।

कलाकार तथा दिदी कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले अमेरिका बाटै पहल सुरु गरेकी छिन् ।उनले आफैंले पनि व्यक्तिगत सहयोग गरेकी छिन् ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले नायिका रेखा थापाले कोपिलाको सहयोगका लागि व्यक्तिगत रूपमा सहयोग गरेको र थप उपचार खर्च जुटाउन पहल सुरु गरेको जानकारी दिए।

