इलाम र बझाङको उपनिर्वाचनकाे लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । वैशाख १५ मा हुने उपनिर्वाचनको लागि इलाम क्षेत्र नम्बर- २ र बझाङ क्षेत्र नम्बर-१ को प्रदेश (१) मा आज उम्मेदवारी दर्ता हुँदैछ।

इलाममा ८ र बझाङ प्रदेश सभामा ५ जना उम्मेदवारले उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुको उम्मेदवारी दर्ता आज हुनेछ।निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले उम्मेदवारी दर्ता गर्न सक्नेछ ।

आजै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

यसैगरी राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रचारप्रसार समेत गर्न थालिसकेका छन् । इलाममा नेपाली कांग्रेस,नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा लगायतले उम्मेदवारी दिने छन् । नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने छ भने नेकपा एकीकृत समाजवादी अहिलेसम्म अनिर्णित छ। त्यस्तै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जसपाले स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुलाई सघाउने भएका छन् ।

निर्वाचन कार्यक्रमअनुसार २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

इलाममा एमालेले स्व सुभाष नेम्वाङको छोरा सुहाङ नेम्वाङ लाई उम्मेदवार बनाएको छ भने कांग्रेसले डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ भने राप्रपाले लक्ष्मी गुरूङ र राप्रपा नेपालले गणेशबहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय