बाबुरामले मागे प्रचण्डको राजीनामा

काठमाडौ । पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ को प्रतिनिधिसभा सदस्य(सांसद)बाट राजिनामा दिनुपर्ने बताएका छन्
गोरखा-२ बाट चुनाव जित्न एउटा पार्टीको मत लिने र जितेपछि अर्को पार्टीसँग मिलेर सरकार बनाउने अनैतिक काम गरेको भन्दै भट्टराईले संसदबाट प्रचण्डले राजीनामा दिएर पुनः नयाँ निर्वाचन लड्नुपर्ने बताएका हुन् । गत २०७९ मंसिर ४ को निर्वाचनमा प्रचण्डलाई डा.भट्टराईले नै आफ्नो निर्वाचन क्षेत्र दिएर सहयोग गरेका थिए। त्यो बेला प्रचण्डले नेपाल समाजवादी पार्टी सहित नेपाली कांग्रेसको समेत मत पाएर चुनाव जितेका थिए।

पूर्वप्रधानमन्त्री भट्टराईले गृह जिल्ला गोरखाका संचारकर्मीसँग भने-,’एउटा पार्टीको मतले जितेर अर्को पार्टीसँग मिलेर प्रधानमन्त्री बन्नु अनैतिक हुन्छ। पुनः चुनाव लडेर जितेर जान म चुनौती दिन्छु।प्रचण्डजीले जुन गठबन्धनबाट चुनाव लड्नुभो त्यसलाई अर्को चुनावभन्दा पहिले छोड्नु त राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुँदैनथ्यो।’

भट्टराईले अगाडी भने, ‘उहाँले गठबन्धन परिवर्तन गर्ने हो भने जसको सहयोगमा उहाँले निर्वाचन जित्नुभयो नि,हो तिनीहरूलाई  धोका दिएको ठहर्छ। राजनीतिकरूपले पनि त्यो अनैतिक ठहर्छ। त्यस्तो अबस्थामा उहाँले चुनाव जितेको क्षेत्रबाट राजीनामा दिनु र फेरि नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ।’

एउटा पार्टीको भोट लिएर जितेपछि त्यो अवधिसम्म धोका दिनु नहुने उनको तर्क थियो।उनले भने-,‘कांग्रेससँग गठबन्धन गरिसकेपछि पाँच वर्षसम्म त कमसेकम धर्म हो नि त, चट्ट छोडेर एमालेसँग जानुभयो। जान नहुने हो, जानु भयो। त्यहाँ बसिरहनु पर्थ्यो। त्यहाँ पनि बस्नुभएन। फेरि कांग्रेससँग जानुभयो। फेरि एमालेतिर जानु भयो ।उहाँको यो तमासा कहिले सम्म हेर्ने ? उहाँको यस्तै लज्जा प्रदर्शन देखेर म पनि पछि लागिरहन सकिनँ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय