शशांकको शानदार ब्याटिङमा गुजरातमाथि पञ्‍जाबको जीत

काठमाडौं, २३ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आइपिएलमा पञ्‍जाब किङ्सले दोस्रो जीत निकालेको छ । बिहिबार भएको खेलमा पञ्‍जाबले गुजरात टाइटन्सलाई ३ विकेटले हराएको हो ।

गुजरातले दिएको २०० रनको विजयी लक्ष्य पञ्‍जाबले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो । पञ्‍जाबका लागि शशांक सिंहले शानदार ब्याटिङ गरे । २९ बलमा ६ चौका र ४ छक्कासहित ६१ रन बनाएका शशांक म्यान अफ दि म्याच समेत घोषित भए । त्यसअघि प्रभसिमरन सिंहले ३५ तथा जोनी बेयरस्टोले २२ रन बनाए । आठौं नम्बरमा ब्याटिङ् आएका आशुतोष शर्माले १७ बलमा ३१ रन बनाएर शशांकलाई साथ दिए ।

पञ्‍जाब एक समय नवौं ओभरमा ७०-४ को अवस्थामा थियो । त्यसपछि सिकन्दर राजा र शशांक मिलेर केही समय सम्हालिँदै इनिङ उकासे । टिमको स्कोर १११ रन हुँदा राजा १५ रनमा आउट भए । त्यसपछि आएका जितेश शर्माले केही समय शशांकलाई साथ दिए । राशिद खानलाई लगातार दुई छक्का प्रहार गरेपछि जितेश आउट भए जुनबेला पञ्‍जाब १६औं ओभरमा १५० रनमा थियो । त्यसपछि शशांक र आशुतोषबीच ४३ रनको साझेदारी भयो । अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा शशांकले खेल जिताए ।

गुजरातका लागि नूर अहमदले ४ ओभरमा ३२ रन दिएर २ विकेट लिए । त्यस्तै अजमतुल्लाह ओमरजाई, राशिद खान, उमेश यादव, मोहित शर्मा र दर्शन नालकन्डेले १ १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रनको योगफल बनाएको थियो । कप्तान शुभमन गिलले अविजित ८९ रनको योगदान दिए । साइ सुदर्शनले ३३ रन बनाउँदा राहुल तेवातिया २३ रनमा अविजित रहे ।

पञ्‍जाबका कगिसो रबाडाले ४ ओभरमा ४४ रन दिएर २ विकेट लिए । हरप्रित ब्रारले ४ ओभरमा ३३ रन दिएर १ विकेट लिए । हर्शल पटेलले ४ ओभरमा ४४ रन दिएर १ विकेट लिए ।

यस जीतसँगै ४ खेलमा २ जीतसहित ४ अंक जोडेको पञ्‍जाब अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलमा समान अंक रहेको गुजरात नेटरनरेटका आधारमा छैटौं स्थानमा छ ।

आइपिएलमा आज: सनराइजर्स हैदराबाद र चेन्‍नई सुपर किङ्स । समय: बेलुका ७:४५ बजे

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय