एकै दिन दुई मुख्यमन्त्रीको राजीनामा

काठमाडौं, २१ चैत। संघीय सत्ताको गठबन्धन भित्र आएको उथलपुथलको बाछिटा प्रदेश सरकारमा समेत देखिन थालेको छ।फलस्वरूप: बुधबार एकैदिन दुई वटा प्रदेशका मुख्यमन्त्रीले राजिनामा दिनुपरेको छ।
बुधबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजिनामा दिए भने दिउसो कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । केन्द्रमा भएको गठबन्धन अनुसार भागबन्डा गर्दा गण्डकी र कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा एमालेको भागमा परेको छ।यद्यपि गण्डकीमा एमाले सहितको गठबन्धन सरकार बन्ने संभावना धेरै कम छ।
यसैगरी बुधबार नै बसेको कर्णाली प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै त्यहाँका मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरे। उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबाब थेग्न नसकेर राजिनामा दिएका हुन् । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका भाइ राजकुमारले कांग्रेसको समर्थन लिएर भएपनी एमालेलाई सत्ता नछाड्ने अडान लिएका थिए। तर,प्रचण्डले राजिनामा नदिए परिणाम राम्रो नहुने चेतावनी दिएपछि उनले राजिनामा दिएको बुझिएको छ ।
राजीनामाको घोषणा गर्नुअघि शर्माले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरेका थिए। यससँगै कर्णाली प्रदेश सभाको बैठक चैत २५ गते आइतवारसम्मका लागि स्थगित भएको छ ।
केन्द्रमा कांग्रेस समेतको गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बने सँगै पाँच दलका शीर्ष नेताबीच कोशी, गण्डकी र कर्णाली एमालेले, बाग्मती र लुम्बिनी माओवादीले, सुदूरपश्चिम एकीकृत समाजवादीले र मधेशमा जसपाले नेतृत्व गर्ने समझदारी गरेका थिए ।

