आयरल्यान्ड ए विरुद्ध नेपालको रोमाञ्‍चक जीत

काठमाडौं, १९ चैत । काठमाडौंमा जारी नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको टी२० श्रृंखलाअन्तर्गत आज भएको तेस्रो तथा अन्तिम टी२० खेलमा नेपालले रोमाञ्‍चक जीत हासिल गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ३ रनले विजयी भएको हो ।

नेपाल एले दिएको २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड एले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाउन सक्यो । गारेथ डेलानीले ३७ बलमा ६८ तथा मोरगान टपिङले ३७ बलमा ६० रन बनाए । यी दुईले पाँचौं विकेटका लागि १२९ रनको शानदार साझेदारी गरेका थिए । यद्यपि त्यसपछि अन्तिम समयतिर आउट हुँदा जीत दिलाउनबाट वञ्‍चित रहे ।

अन्तिम ओभरमा जीतका लागि २० रन चाहिएको अवस्थामा फियोन ह्यान्ड स्ट्राइकमा थिए । पहिलो बल उनले छक्का प्रहार गरे । नो बलको अपिल रहेको भएपनि अम्पायरले दिएनन् । उक्त बल कम्मरभन्दा माथि देखिन्थ्यो । अघिल्ला ओभरहरुमा पनि अम्पायरले केही नो बललाई नकारेका थिए ।

त्यसपछि दोस्रो र तेस्रो बलमा २ रन लिएका ह्‍यान्डले चौथो बलमा चौका प्रहार गरपछि आयरल्यान्डलाई २ बलमा ६ रन चाहिएको थियो । पाँचौं बलमा २ रन लिने क्रममा ह्‍यान्ड आउट भए । अन्तिम बलमा १ रन मात्र जोड्न सक्यो । नेपालका बिपिन खत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए । त्यस्तै कमलसिंह ऐरी, राशिद खान र नारायण जोशीले १ १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रनको पारी खेले । ४८ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै राशिद खानले १३ बलमा २५ रन बनाए । कमल सिंह ऐरी १९ रनमा अविजित रहे ।

आयरल्यान्ड ए का लागि फियोन ह्‍यान्डले ४ ओभरमा ४१ रन दिएर २ विकेट लिए । त्यस्तै गेभिन होए, लियाम मेकार्थी, म्याथिउ फोस्टर गारेथ डेलानीले १-१ विकेट लिए ।

नेपाल ए यस श्रृंखलामा २-० ले पछाडि छ । क्लिन स्वीपबाट जोगिन नेपाललाई जित्‍नैपर्ने दबाब छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय