प्रचण्ड-ओली पुनः छुट्टिनेमा देउवा ढुक्क !

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला फुर्सदमा छन् । पार्टी, सरकार र आगामी महाधिवेशन वा ०८४ को चुनावका विषयमा पनि देउवालाई कुनै चासो नभएको जस्तो गरिरहन्छन् । उनी धेरैजसो समय निजि निवास बुढानिलकण्ठमै भेटिन्छन् ।
२०७९ मंसिर ४ अगाडी बनेको चुनावी गठबन्धन चुनाव लगत्तै भत्किएको बेला उनी जति बेचैनी र हैरानीमा थिए अहिले गठबन्धन भत्किदा पनि उनलाई खासै नरमाइलो छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै भाषामा यदि राजनीतिमा ‘उथलपुथल’ नभैदिएको भए आलोपालोमा १० महिनापछि देउवा प्रधानमन्त्री हुने थिए। पालो कुर्दाकुर्दै एकाएक गठबन्धन भत्किएर प्रचण्डकै नेतृत्वमा नयाँ सरकार गठन हुँदा पनि देउवाले कुनै गुनासो गरेका छैनन् ।
एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी समेतलाई लिएर माओवादी,जसपा र समाजवादी समेतको गठबन्धन बनेपछि सत्ता,राष्ट्रिय सभा अध्यक्ष,३ वटा प्रदेश प्रमुख,राष्ट्रिय योजना आयोगका पदाधिकारी गुमाइसकेको कांग्रेसले केही दिनमै प्रदेश सरकारको नेतृत्व समेत गुमाउँदै छ।तर,यति हुँदाहुँदै पनि कांग्रेस सभापति देउवा चुपचाप बूढानीलकण्ठस्थित निजि निवास कुरेर बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
अरुबेला यत्तिको राजनीतिक क्षति हुँदा आरोप-प्रत्यारोपमा उत्रिने कांग्रेस र कम्युनिस्ट यतिबेला शान्त हुनुको अर्थ कसैले बुझ्न सकेका पनि छैनन् । त्यसो त देउवाले गठबन्धन भत्किनुमा आफू दोषी नभएको बताइरहेका छन् र प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटीपनी सकेका छन् । अझैपनी प्रचण्ड फर्किने र आफ्नो पालोमा प्रधानमन्त्री बन्ने कुरामा देउवा ढुक्क छन् भन्ने पनि सुनिन्छ । आफुलाइ भेट्न आउने नेताकार्यकर्तासँग उनले प्रचण्ड-ओलीको सम्बन्ध धेरै नटिक्ने र पुनः कांग्रेस समेतको गठबन्धन बनेर आफू प्रधानमन्त्री बन्ने बताइरहेका छन् ।
यो सरकार चीनको चाहनामा बनेको भन्ने देउवालाई लागेको छ तर उनी यसबारे पनि टिप्पणी गर्न चाहदैनन् । उनको बुझाइमा कम्युनिस्ट एकता संभव नै छैन। देउवा निकट स्रोत भन्छ-‘प्रचण्ड र ओली मिल्ने अवस्था नै नभएको र केही समय कांग्रेसले धैर्य गर्नुपर्ने भएकोले माओवादी वा प्रचण्ड विरुद्ध आक्रामक नहुन सभापतिको निर्देशन छ।’
छिमेकी चीनको दबाब र एमाले अध्यक्ष केपी शर्मा ओलीको झुठो आश्वासनमा प्रचण्ड बहकिएको तर,यो क्षणिक मात्रै हुने कांग्रेसको बुझाइ छ। कांग्रेसलाई छाडेर कम्युनिस्ट एकतामा लाग्न चीनले धेरै अगाडिदेखि दबाब दिएको र प्रचण्डले त्यसैका लागि निहुँ खोज्न कांग्रेस महासमिति बैठकमा लेखिएको प्रतिवेदनलाई निहुँ बनाएको देउवा लगायत शिर्ष नेताको स्पष्ट बुझाइ छ।
अबको केही महिनामा अहिलेको गठबन्धन भित्र दरार देखिने र टुट्ने आंकलन गरिरहेका देउवाले एमाले नेतालाई समेत भेट्न चाहेका छैनन् । उनलाई केही दिन अगाडी एमाले नेता बिष्णु पौडेल र प्रदिप ज्ञवालीले भेटेर कुरा गर्न खोजेको भएपनी संभव नभएको बुझिएको छ।
गठबन्धन टुट्ने बित्तिकै सक्रिय भएर सबै साना दल भेट्न दौडिएका देउवाले केही दिनदेखि भने कम्युनिस्ट नेता मात्रै होइन मधेसवादी दल र अन्य साना दलसँग पनि भेट्न चाहेका छैनन् । उनले निजि निवासलाई नै आफ्ना पदाधिकारी,पुर्व पदाधिकारी,केन्द्रिय समिति,संसदिय दल एवं भ्रातृसंगठनका नेता सहित प्रदेश मुख्यमन्त्रीलाई भेटघाट स्थल बनाएका छन् ।श्रीमती आरजु राणा उपचारको लागि भारतमा रहेको भएपनी अनावश्यक राजनीतिक फण्डा आउला भनेर देउवा त्यता पनि गएका छैनन् । आजभोलि उनको धेरै समय निवासमै बित्ने गरेको निजि सचिवालयले पनि पुष्टि गरेको छ।

