हैदराबाद र मुम्बईबीचको अविस्मरणिय खेलमा बनेका कीर्तिमानहरु

प्रतिक भट्ट

काठमाडौं, १५ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार सनराइजर्स हैदराबादले पहिलो जीत निकाल्न सफल भयो । रनको वर्षा भएको साथै कीर्तिमान नै कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हरायो ।

खेलमा दुवै टोलीका ब्याटरले विस्फोटक ब्याटिङ गरेका थिए । आइपिएल इतिहासकै सर्वाधिक उच्च स्कोरको कीर्तिमान पनि तोड्दै हैदराबादले २० ओभरमा २७७ रन बनाएको थियो भने जवाफमा मुम्बईले पनि २४६ रन प्रहार गर्‍यो । यस क्रममा दुवै टोलीका बलर पनि निकै महङ्गो साबित भए । सो क्रममा विभिन्‍न कीर्तिमानहरु तोडिएका छन् । आउनुस् हिजो भएको हैदराबाद र मुम्बईको बीचको खेलमा बनेका कीर्तिमानबारे चर्चा गरौँ:

१. सर्वाधिक योगफल: हैदराबादमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रनको भीमकाय योगफल खडा गरेको थियो । यस योगफल आइपिएल इतिहासकै सर्वाधिक योगफल हो । यसअघि रोयल च्यालेन्जर्स बैङ्गलोरले २०१३ मा पुने वारियर्स इन्डियासँग २६३ रनको योगफल बनाएको थियो । त्यसबेला क्रिस गेल एक्लैले १७५ रन बनाएका थिए । आरसिबीको उक्त योगफलको रेकर्ड हिजो हैदराबादले तोडिदिएको छ । टी२० क्रिकेटमा यो समग्रमा चौथो सर्वाधिक स्कोर हो । टी२० को सर्वाधिक स्कोर भने नेपालको नाममा छ जुन नेपालले २०२३ को एसियन गेम्समा मङ्गोलिया विरुद्ध ३१४ रन बनाएको थियो ।

२. सर्वाधिक कुल रन: मुम्बई र हैदराबादबीचको खेलमा दुवै इनिङको जोडेर कुल ५२३ रन बनेको थियो । यो टी२० र आइपिएल दुवैमा कीर्तिमानी योगफल हो । यसअघि गत वर्ष दक्षिण अफ्रिका र वेस्ट इन्डिजको बीचमा कुल ५१७ रन बनेको थियो । त्यस्तै आइपिएलमा भने यसअघि चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सको बीचमा सन् २०१० मा ४६९ रनको कुल योगफल बनेको थियो ।

३. सर्वाधिक कुल छक्का: यस खेलमा दुवै टोलीका तर्फबाट कुल ३८ छक्का प्रहार भए । हैदराबादबाट १८ तथा मुम्बईबाट २० छक्का प्रहार भएको थियो । यो आइपिएलमा सर्वाधिक छक्काको कीर्तिमान हो । यसअघि २०१८ मा बैङ्गलोर र चेन्‍नईबीचको खेलमा कुल ३३ छक्का प्रहार भएका थिए । त्यस्तै पुरुष टी२० क्रिकेटमा पनि यो सर्वाधिक छक्काको रेकर्ड हो ।

४. दोस्रो इनिङमा सर्वाधिक योगफल: २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले जवाफमा २० ओभर खेलेर २४६ रन बनाएको थियो । यो आइपिएल इतिहासमा कुनै पनि टोलीले चेज गर्दा बनाएको सर्वाधिक योगफल हो । यसअघि राजस्थानले पन्जाबविरुद्ध २२६ रन दोस्रो इनिङमा प्रहार गर्दै खेल जितेको नै थियो ।

५. १० ओभरमा सर्वाधिक योगफल: हैदराबादले पहिलो इनिङमा ब्याटिङ गर्ने क्रममा १० ओभरमै १४८ रन बनाएको थियो । यो आइपिएल इतिहासमै सर्वाधिक हो । त्यस्तै हिजो नै मुम्बईले जवाफी ब्याटिङ गर्दा १० ओभरमा १४१ रन बनाएको थियो जुन यही लिस्टमा दोस्रो नम्बरमा पर्छ ।

६. आइपिएल डेब्युमा सबैभन्दा खर्चिलो बलिङ: आफ्नो डेब्यु आइपिएल खेल खेलेका मुम्बईका बलर कुएना माफाकाले ४ ओभरमा ६६ रन खर्चिएका थिए । यो आइपिएलमा डेब्यु खेलमा गरेको सबैभन्दा खराब बलिङ प्रदर्शन हो भने समग्रमा आइपिएलमा तेस्रो खराब रेकर्ड हो ।

यीबाहेक हैदराबादको लागि पनि नयाँ कीर्तिमान बनेका छन् । हैदराबादले पावरप्लेमा बनाएको ८१ रन उनीहरुको लागि इतिहासमै सर्वाधिक हो । त्यस्तै हैदराबादले प्रहार गरेको १८ छक्का पनि टोलीको लागि एकै इनिङमा सर्वाधिक छक्काको रेकर्ड हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...