पाल्पामा १९ वर्षीया युवतीको बीभत्स हत्या

पाल्पा, १४ चैत । पाल्पामा एक १९ वर्षीया युवतीको शव फेला परेको छ । रिब्दीकोट गाउँपालिका १ काराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
मंगलबार दिउँसो विभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो । पद्मा मंगलवार दिउँसो घरबाट केही टाढा रहेको सार्वजनिक पँधेरोमा नुहाउन गएकी थिइन्।
नुहाउन गएकी छोरी घर फर्किन ढिलो गरेपछि खोजी गर्ने क्रममा मंगलवार साँझ शव फेला परेको आफन्तले बताएका छन्। उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
घटनास्थलमा तालिम प्राप्त कुकुरसहित प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

