गृहमन्त्री विरुद्ध रमेश खरेल: ‘तपाईं अनैतिक हुनु भो’

काठमाडौं, ८ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता समेत रहेका पुर्व डिआइजी रमेश खरेलले नैतिकताको प्रश्न उठाएका छन् ।

नेपाल प्रहरीका पूर्वडीआइजी तथा रास्वपाका नेता खरेलले आफ्नै  पार्टी सभापति एवं गृहमन्त्री लामिछाने माथी लागेको ‘सहकारी ठगी’ आरोपका बिषयमा उक्त प्रश्न उठाएका हुन् । उनले सहकारी प्रकरणमा आफूमाथि अनुसन्धान हुँदाहुँदै लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताको प्रश्न तेर्साएका हुन्।

बारा-२ को उपनिर्वाचनमा पराजित भएपछि रास्वपामा निष्क्रिय रहेका खरेल अहिले पार्टीको मुख्य जिम्मेवारीमा पनि छैनन् ।  एउटा निजी टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रम चलाउदै आएका खरेलले माओवादी उपाध्यक्ष एवं पुर्व गृहमन्त्री कृष्णबहादुर महरा सुन तस्करी काण्डमा पक्राउ परेको प्रसंग संगै आफ्नै सभापति लामिछाने माथी पनि प्रश्न गरेका थिए । महरालाई पक्राउ गरेकोमा उनले गृहमन्त्री लामिछानेलाई धन्यवाद दिए । त्यस लगत्तै आफ्नै पार्टी सभापति एवं गृहमन्त्रीमाथि नै खनिए ।

खरेलले प्रश्न तेर्साएर भनेका छन्, ‘प्रश्न त तपाईंमाथि पनि छन् नि गृहमन्त्रीज्यू । सहकारी ठगीको जुन आरोप छ, त्यसको जवाफ त तपाईंले नै दिने हो । आफूमाथि उजुरी हुँदाहुँदै गृहमन्त्री बन्ने अनैतिक कार्य त तपाईंबाट पनि भएकै हो । जुन मन्त्रालयको नेतृत्वमा अनुसन्धान हुनुपर्ने हो त्यही मन्त्रालयको कुर्सीमा आसिन हुन मिल्दो कुरा पक्कै थिएन । भइहाल्नुभयो, कुरा अर्कै भयो । जुन दिन तपाईं अनुसन्धानको पवित्र अग्निमा आफैं होमिएर शुद्ध भएर निस्किनुहुन्छ, त्यसपछि तपाईंले गर्नुभएका यस्ता कर्मलाई स्यावास भनौंला । तर, गृहमन्त्रीको कुर्सीमा रहेर होइन, बाहिर रहेर ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय