दर्शकको मन र मस्तिष्कमा रेखाको ‘उपहार’

काठमाडौं,७ चैत। काठमाडौका नानु दाहाल र रचना निरौला (पौडेल)ले फिल्म हलमा गएर चलचित्र हेर्न नपाएको धेरै समय भएको थियो। आ-आफ्नै काममा व्यस्त यी दिदीबहिनीको एकदिन समय मिलाएरै चलचित्र हेर्ने सल्लाह मिल्यो ।

मिडिया र सामाजिक संजालमा वाह ! वाह ! पाइरहेको हिम्मतवाली नायिका रेखा थापाको पछिल्लो चलचित्र ‘उपहार’ को दर्शक प्रतिक्रिया र चर्चा सुनिरहेका उनीहरुले पनि ‘उपहार’ नै हेर्ने सल्लाह मिलाए। चलचित्र हेर्न हलमा पुगेपछि उनीहरुले सोचेकै जस्तो चलचित्र बनेकोमा सन्तुष्ट भए।तर,चलचित्र हेरेर मात्रै उनीहरुको चित्त बुझेन । हलबाहिर निस्कने बित्तिकै उपहारको ओठ तिम्रो क्या छ गुलावी वाह ! वाह !! वाह !!! भन्ने गीतमा भिडियो बनाए।

आफ्ना साथी सर्कललाई चलचित्र ‘उपहार’ को नारीप्रधान कथा, संघर्ष र पात्रको अभिनयसंगै गीत पनि उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेका नानु र रचनाले भने-,’धेरै पछि हलमा नेपाली चलचित्र हेर्दा मज्जा आयो। ‘उपहार’ जत्तिकै सशक्त कथा र पात्रको अभिनय हुने हो भने नेपाली चलचित्रले विश्व चलचित्र बजारमा प्रतिस्पर्धा गर्न सक्छ।’

नानु र रचनाको बुझाइमा चलचित्र ‘उपहार’ सत्य घटना जस्तै छ। कुनै बनावटी र अरुबाट प्रभावित भएर लेखिएको कथा जस्तो नै लाग्दैन। चलचित्रमा जे छ त्यो सत्य हो र हरेकको भोगाइ नै हो। जस्तोसुकै अफ्ट्यारो अवस्था आएपनी त्यसलाई छिचोल्दै जीवन अगाडी बढाउनुपर्छ भन्ने सन्देश चलचित्रले दिएको छ।

फागुन २५ महाशिवरात्रीको दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘उपहार’ले तेस्रो हप्ता लाग्दासम्म पनि सुखद व्यापार गर्दै नानु र रचना जस्तै थुप्रै दर्शकको मन जितिरहेको छ । नेपाली चलचित्र राम्रो बन्दैन,कथा र पटकथा कमजोर हुन्छ,पात्रको अभिनय झुर हुन्छ भन्नेहरूका लागि चलचित्र ‘उपहार’ले पाएको सफलताले दर्‍हो जवाफ फर्काएको छ।

अझै पनि चलचित्रले संघीय राजधानी काठमाडौका विभिन्न मल र सिंगल थियटर हलमा राम्रो शो पाइरहेको छ।उपत्यका बाहिरको व्यापार पनि सुखद छ। त्यसैगरी अमेरिकामा नायिका रेखा थापा संगै बसेर चलचित्र हेर्ने अवसर पाएका दर्शकको प्रतिक्रिया पनि गज्जब थियो। अमेरिकाको कोलोराडोमा  चलचित्र उपहार प्रदर्शन हुँदा हल ‘हाउसफुल’ रहेको तस्बिर नायिका रेखा आफैंले शेयर गरेकी छन् ।

रेखाको अघिल्ला चलचित्र जस्तै यसमा पनि नारीप्रधान बिषयलाई महत्व दिइएको छ। जुन कुरा महिलाहरुले झन् बढी रुचाएको प्रतिक्रिया दिएका छन् । चलचित्र उपहार हेरेर फर्केपछि दर्शकले रेखा थापाको हिम्मतलाई अझै बढी प्रशंसा गरेका छन् ।

निर्देशक ज्ञानेन्द्र देउजा निर्देशीत फिल्म ‘उपहार’ मा हिम्मतवाली नायिका रेखा थापा,पूजा शर्मा,नायक मुकुन भुषाल,बेनिशा हमाल,सुस्मा कार्की, समर्पणजंग कार्की,राजाराम पौडेल,शिशिर राणा,अंशु महर्जन,कमल भट्ट,बिनोद पौडेल, लगायतको अभिनय छ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । यसैगरी फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय