कथावाचक शीतलकृष्ण महाराज माथी लाग्यो पत्नी हिंसाको आरोप

काठमाडौ,५ चैत। आफुलाई प्रशिद्ध धर्मगुरु भनेर चिनाउदै आएका कथावाचक शीतलकृष्ण महाराज भुसालले पत्नी हिंसा गरेको आरोप लागेको छ।
कथावाचक भुसालले अन्य महिलासंग निकट भएर आफुलाई डिभोर्स गर्न धम्काइ रहेको श्रीमती स्वीकृति पौडेलको आरोप छ। उनकी श्रीमती पौडेलले मिडियामा आएर अन्याय विरुद्ध बोलिदिन संचारकर्मी गुहारेकी छिन् । पतिले पटक पटक हिंसा गरेको भन्दै पत्रकारसंग पौडेलले भनिन् -‘अन्य २/३ जना महिलासंग उहाँको सम्बन्ध रहेको मलाई जानकारी छ। त्यसमा महिलाको पनि स्वीकार वा अस्विकार के हो मलाई थाहा भएन तर मेरो श्रीमानको त्यस्तो सम्बन्धबारे मलाई थाहा भएर नै हिंसामा परेकी हुँ।’
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हाम्रो विवाह भएको तीन वर्ष भयो । विवाह पश्चात् केही महिना राम्रोसँग बित्यो तर पछि उहाँको दुर्व्यवहार र दुश्चरित्रहरु बाहिर देखिन र मैले अनुभव गर्न थालें । मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भन्दापनि उहाँले मलाई रक्ताम्य हुनेगरि कुटपिट गर्ने घट्ना हुन थाले । यतिमात्र नभई मलाई भ्रुणहत्या गर्न विवश बनाइयो । म सहँदै गएँ । किनकी विवाहलाई निर्वाह यसरी नै गर्नुपर्दो रहेछ की भन्ने लागेर आयो । मैले मेरो पीडा माइती पक्षलाई पनि केही भनिनँ ।’
उनले गत २०८० वैशाखमा भारतको उत्तराखण्डमा चारधामको यात्रामा सुमेत आफूहरु दुवै जना सँगै रहेको स्मरण गराइन् । उनले भनिन् ,‘उहाँको त्यतिबेला व्यवहार सामान्य नै थियो । तीर्थ यात्रापश्चात् घर फर्केर आएपछि २०८० साउन २३ गते मेरो माइती भरतपुर–५ शमीचोकमा मेरो श्रीमान महाराजाको जन्मोत्सव रात्रिको समयमा भव्यसँग मनाइएको थियो । बिहान घर (दलदले नवलपुर) मा बुवालाई भेटेर तिमीलाई लिन आउँछु भनेर जानुभयो । आउनुहोला भनेर प्रतिक्षा गर्दै थिएँ । अकस्मात मलाई छोडपत्र दिने विचारले जिल्ला अदालत नवलपुरमा डिभोर्स फाईल पेस गरेको जानकारी आयो । म यो अप्रत्यासित र अकल्पनीय खबर सुनेर एक्कासी बेहोस भएँ ।’
आफूलाई डिभोर्स दिन बाध्य बनाउन खोजेर पति भने महिनौंसम्म भागेर भारतमा बसेको पनि उनले सुनाइन् । उनले भनिन्–‘पछि महिनौंसम्म भागेर भारतमा गएर बसेको जानकारी पाएँ । हामीले पटक–पटक सल्लाहको लागि आग्रह गर्दा भाइ सौगात भुसााल (जसलाई अदालतमा मेरो श्रीमानले वारेसनामा दिएको छ) पाँच वर्षको च्यालेन्ज दिन्छु, मेरो दाई झिकेर देखाउनु भन्दै उल्टै धम्कयाउने कार्य गरे ।’
कार्यक्रममा सामाजिक अभियन्ता जय नारी भनेर चिनिएकी सावित्रा सुवेदीले सुकृतिको लागि न्यायको लागि आवाज उठाईदिन अपिल गरेकी छिन् । उनले धर्मको खोल ओढेर कथित धर्मगुरुले श्रीमतीलाई पीडा दिएको भन्दै उसलाई कारबाही गर्नुपर्ने माग गरिन् ।

