पिएनजीसँग नेपालको लज्जास्पद हार

Photo: Cricket Hong Kong/CAN

काठमाडौं, ३० फागुन । हङकङमा सम्पन्न नेपाल, हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी-२० आई श्रृंखलाको उपाधि पपुवा न्युगिनीले जितेको छ । बुधबार भएको फाइनलमा पिएनजीले नेपाललाई ८६ रनले हराएको हो । लज्जास्पद हार व्यहोर्ने क्रममा नेपाल ८५ रनमै अलआउट भयो ।

पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा केवल ८५ रनमा समेटियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाउँदा आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।

नेपालको टिम स्कोरलाई दोहोरो अंकमै सीमित राख्न पिएनजीका चाड सोपरले ४ ओभरमा १५ रन मात्र दिएर २ विकेट लिए । त्यस्तै सेमो कामिया र काबुआ मोरियाले ३ ओभरमा समान १३ रन दिएर समान २ विकेट लिए । सेसे बाउले २ ओभरमा १० रन दिएर २ विकेट लिए । एलाई नाओले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले‌ निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । उसका लागि टोनी उराले ३७ बलमा ६१ रन बनाए । त्यस्तै एलाई नाओले १०‌ बलमा ३०‌ रनको विष्फोटक पारी खेले ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । त्यस्तै आकाश चन्दले ४ ओभरमा ४१ रन दिएर ३ विकेट लिए ।

नेपाल र हङकङबीच श्रृंखलाको पहिलो खेल वर्षाका कारण बिथोलिएको थियो । त्यस्तै हिजो विहान भएको खेलमा नेपालले पिएनजीलाई फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । हिजै दिउँसो भएको खेलमा पिएनजीले हङकङमाथि शानदार जीत निकाल्दा फाइनलमा नेपाल र पिएनजी खेल्ने तय भएको थियो ।

त्यसअघि मार्च ९ मा नेपालले हङकङसँग फ्रेन्डसिप कपमा खेलेको थियो जसमा नेपाल पराजित भएको थियो । आगामी टी-२० विश्‍वकपको तयारी स्वरुप यस श्रृंखला खेलिएको हो । आउँदो जुन महिनामा हुने टी-२० विश्‍वकपमा पिएनजी पनि खेल्दै छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय