त्रिदेशीय टी-२०आई श्रृंखलाको फाइनलमा नेपाल र पिएनजी खेल्दै

काठमाडौं, ३० फागुन । हङकङमा जारी नेपाल, हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी-२० आई श्रृंखलाको फाइनलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी)सँग खेल्दै छ । विहान सवा ११ बजेदेखि सुरु हुने खेलको प्रत्यक्ष प्रसारण आइसिसी टिभी र युट्युबमा क्रिकेट हङकङको च्यानलमार्फत हेर्न सकिनेछ ।

नेपाल र हङकङबीच श्रृंखलाको पहिलो खेल वर्षाका कारण बिथोलिएको थियो । त्यस्तै हिजो विहान भएको खेलमा नेपालले पिएनजीलाई फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । हिजै दिउँसो भएको खेलमा पिएनजीले हङकङमाथि शानदार जीत निकाल्दा फाइनलमा नेपाल र पिएनजी खेल्ने तय भएको थियो ।

त्यसअघि मार्च ९ मा नेपालले हङकङसँग फ्रेन्डसिप कपमा खेलेको थियो जसमा नेपाल पराजित भएको थियो । आगामी टी-२० विश्‍वकपको तयारी स्वरुप यस श्रृंखला खेलिएको हो । आउँदो जुन महिनामा हुने टी-२० विश्‍वकपमा पिएनजी पनि खेल्दै छ ।

यस श्रृंखलाका लागि क्यानले केही मुख्य खेलाडीलाई आराम दिँदै टोली घोषणा गरेको थियो । आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल शाहलाई आराम दिइँदा लोकेश बम र आकाश चन्द टोलीमा समावेश छन् । त्यसैगरी हालै नेपालमा सम्पन्‍न टी-२० श्रृंखलाबाट रोहित पौडेल, कुशल भुर्तेल, गुल्शन झा, आरिफ शेख, बिबेक यादव, करण केसी, विनोद भण्डारी, अविनाश बोहरा, सन्दीप जोरा र प्रतिश जिसीले निरन्तरता पाएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय