टोखा नगरपालिकामा व्यवसाय दर्ता तथा खाद्य र अनुज्ञा-पत्र सम्बन्धि अन्तरक्रिया सम्पन्न

काठमाडौ,२९ फागुन। टोखा नगरपालिकाले वडा तथा नगरभित्र व्यवसाय दर्ता सम्बन्धि बिषयमा मंगलबार सरोकारवालासंग अन्तरक्रिया गरेको छ।

कार्यक्रममा नगरपालिकाले जारी गरेको ऐन, निर्देशिका सहित व्यवसाय दर्ता,नविकरण,उद्योग अनुज्ञा पत्र तथा खाद्य गुणस्तर बारे छलफल गरिएको थियो।
सो अवसरमा खाद्य अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारीले उद्योग दर्ता पछि अनुज्ञा पत्र र खाद्य अनुमति पत्र पनि लिनुपर्ने बताए। उद्योग दर्तापछी व्यवसाय सुरु गरेर बजारमा पठाउनु अगाडी नै यी कुरामा ध्यान पुर्‍याउन उनको सुझाव थियो। उनले उद्योग स्थापनादेखि त्यसपछिका सबै प्रक्रिया पूरा गरेर मात्रै सम्बन्धित निकायलाई सिफारिस दिइने समेत बताए।

नगरप्रमुख प्रकाश अधिकारीको सभापतित्वमा भएको ‘ब्यबसाय दर्ता सम्बन्धि बिषयमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम’मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले स्वागत गर्दै कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए।
उनले उद्योगी र ब्यबसायीको बिषय सम्बोधन गर्न र गुनासो सुनेर त्यसलाई निराकरण गर्न कार्यक्रम आयोजना गरिएको भन्दै ब्यबसायीका गुनासो सुन्ने, सुझाब लिने र कार्यान्वयन गर्ने गरि कार्यक्रम राखिएको बताए।

उनले टोखा नगरपालिकाले वडा मार्फत ब्यबसाय दर्ता र दर्ता गर्दाको कानुनी पाटोको बिषयमा समेत प्रष्ट पारेका थिए । प्रमुख प्रशासकीय अधिकृत विसिले नगरपालिकाले पनि उद्योग दर्ता ऐन जारी गरेको जानकारी गराउदै लघु उद्यम, रोजगारीको सिर्जना र औद्योगिक वातावरण बनाउन नगरपालिका लागि परेको सुनाए।
नगरपालिकाले चैत दोस्रो सातादेखि ब्यबसाय दर्ताको लागी अभियान संचालन गर्ने र त्यसलाई सहजीकरण र सफल बनाउन लागिपर्ने पनि उनको भनाइ थियो।

 

तस्बिर :ताराप्रसाद पोखरेल

कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर -७ का अध्यक्ष कुमार प्रसाद कोइरालाले नगरपालिकाले कुन प्रक्रियाबाट व्यवसाय दर्ता,नविकरण र कर संकलन गरिरहेको छ भन्ने बारेमा जानकारी गराएका थिए।
उनले व्यवसाय दर्ता गर्दा स्थानीय तहका काम कर्तव्य र अधिकार अन्तर्गत रहेर नै दर्ता गरिदै आएको भन्दै कानुनी आधार बारे प्रष्ट पारेका थिए। स्थानीय कर संगै सम्पत्ति कर,घर जग्गा कर र व्यवसाय कर पनि लिने गरेको उनको भनाइ थियो।

उद्योग बाणिज्य कार्यालय ललितपुरका उपसचिव यादवनाथ आचार्यले तीन तहको सरकारले जारी गरेको ऐन,कानुन र निर्देशिका अन्तर्गत उद्योग दर्ता,नवीकरण र खारेजीका प्रक्रिया हुने जानकारी दिए। उनले प्रविधि हस्तान्तरण,परियोजना धितो राख्ने, सुरक्षाको कुरामा समेत कानुनी जानकारी दिएका थिए।
कुनै दूरगामी असर पुग्ने वा वातावरणमा असर पर्ने अवस्थामा भने स्थानीय तहको सिफारिस अनिवार्य हुने र खाद्य र पर्यटन उद्योग दर्तामा पनि सम्बन्धित कार्यालयको सिफारिस अनिवार्य हुने उनको भनाइ थियो।

घरेलु तथा साना उद्योग महासङ्गका केन्द्रिय उपाध्यक्ष शोभा गुरुङले उद्योग दर्ता गर्दा देखि नै विभिन्न निकायमा दर्ता गर्दाको झन्झटले व्यवसायी त्रसित हुने गरेको बताइन् । उद्योग दर्ता गरेर करको दायरामा आएपछि हुने फाइदा भन्दा पनि व्यवसायीलाई अब सरकारले सहयोग होइन दु:ख दिन्छ कि भन्ने भ्रम रहेको उनको भनाइ थियो। यी भ्रमबाट मुक्त भएर व्यवसाय दर्ता,नविकरण र संचालन गर्न उनको सुझाव थियो।

स्थानीय व्यवसायी,नगरपालिकाका कर्मचारी एवं बिषय बिज्ञको सहभागीता रहेको कार्यक्रम टोखा नगरपालिका अधिकृत मधुसूदन मिश्रले संचालन गरेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय