पिएनजीमाथि नेपालको प्रभावशाली जीत

काठमाडौं, २९ फागुन । हङकङमा जारी नेपाल, हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी-२० आई श्रृंखलाको दोस्रो खेलमा नेपालले जीत हासिल गरेको छ । मोङ कोकमा भएको खेलमा नेपालले पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले हराएको हो ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको पिइनजी २३ बल अगावै ११३ रनमा अलआउट भयो । उसका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाए । त्यस्तै सेसे बाउले २१, टोनी उराले १३ तथा नोसियाना पोकानाले १२ रन बनाए ।
नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिए । यो उनको करियरकै बेस्ट बलिङ हो । त्यस्तै प्रतिश जिसीले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । गुल्शन झा र आकाश चन्दले १ १ विकेट लिए । सुरुवात राम्रो गरेको भएपनि मध्यक्रम नचल्दा पिएनजी सस्तैमा समेटियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । ३९ बल खेलेका उनले चार चौका र चार छक्का प्रहार गरे । त्यस्तै सन्दीप जोराले २६ बलमा ५६ रन बनाए ।
पिएनजीका लागि कप्तान असाद भालाले २ विकेट लिए भने नोसियाना पोकाना, जोन कारिको र नरमान भानुवाले १-१ विकेट लिए ।
आगामी टी-२० विश्वकपको तयारी स्वरुप यस श्रृंखला खेल्न लागिएको हो । टी-२० विश्वकपमा पिएनजी पनि खेल्दै छ ।
नेपालले आजै दिउँसो हुने पिएनजी र हङकङबीचको खेलको विजेतासँग भोलि फाइनल खेल्ने छ ।

