आगलागीको असरपछि कर्णाली पुलमा आवतजावत बन्द

कैलाली, २८ फागुन । कर्णाली पुलमा सोमबार दिउँसो गुडिरहेको ट्रकमा आगलागी हुँदा पुलमा पनि क्षति पुगेपछि आवतजावत बन्द गरिएको छ ।
सोमबार विरगञ्जबाट महेन्द्रनगर जाँदै गरेकोे ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको थियो । उक्त आगो पुलको लठ्ठामा पनि सल्किएपछि लठ्ठा पग्लिएको र प्राविधिक जाँचपछि मात्र पुल सञ्चालनबारे निर्णय गरिने प्रहरीले जनाएको छ ।
झन्डै एक करोड बराबरको लाइटर बोकेर गइरहेको ट्रकमा एक्कासी आगो लागेको थियो । लाइटर बलेका कारण आगो निभाउन समेत कठिन भएको थियो । आगो नियन्त्रणमा आउँदा ट्रक जलेर पूर्ण रुपमा जलिसकेको थियो ।
आवतजावत बन्द भएसँगै कर्णाली पुल भएर भित्रिने र बाहिरिने यातायातका साधनलाई वैकल्पिक बाटो भएर पठाइएको छ । अहिले कोठियाघाटको पुल भएर यातायातका साधन चलिरहेका छन्।

