गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डीपी अर्याल विरुद्ध उजुरी
काठमाडौं, २७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्यालले स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी लिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।
उपप्रधान एवं गृहमन्त्री लामिछाने र श्रम तथा रोजगार मन्त्री अर्याललाई स्वार्थ द्धन्द्व हुने गरी दिइएको मन्त्रालयको जिम्मेवारी हेरफेर गरी पाउ भनी युवराज सफलले लामिछाने र अर्यालविरुद्ध उजुरी दर्ता गराएका हुन् ।
‘२०८० फाल्गुन २३ गते बुधवारको दिन गठित मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने र उपसभापति एवम् सांसद डिपी अर्याल क्रमश उपप्रधान तथा गृह र श्रम तथा रोजगार मन्त्रीमा नियुक्त भएकोले निजहरु उल्लेखित पदमा रही कार्य गर्दा स्वार्थको द्वन्द स्पष्ट देखिने हुँदा निजहरुको जिम्मेवारी तत्काल हेरफेर गरी पाउँ भनी सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष यो निवेदन पेश गरेको छु,’– प्रधानमन्त्रीको कार्यालयमा परेको उजुरी भनिएको छ ।
लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्न नहुने कारणमा उनीमाथि राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको, उनी गृहमन्त्रीमा रहँदा आफ्नो राहदानी सम्बन्धी मुद्धाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने संभावना देखिएको उल्लेख छ ।
त्यसैगरी, लामिछानेविरुद्ध सहकारी ठगी सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको र उनी गृहमन्त्री हुँदा अनुसन्धान प्रभावित र प्रमाण नष्ट गर्ने संभावना रहेको, उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले समेत अकुत सम्पत्ति कमाएको आरोपमा आवश्यक अनुसन्धान एवं छानविनसमेत गरिरहेको उजुरीमा उल्लेख छ ।
त्यस्तै उपसभापति अर्याल श्रम तथा रोजगार मन्त्री बन्न नहुने कारणमा उनी मेनपावर व्यवसायीको रुपमा कार्य गरेको र हाल पनि मेन पावर कम्पनीको जिम्मेवार पदमा रहेको दाबी छ ।
तत्काल उल्लेखित मन्त्रीहरुको जिम्मेवारी हेरफेर नगरेको खण्डमा यही विषय लिएर प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाएर कानूनी उपचारमा जाने उनको चेतावनी छ । साथै, स्वार्थको द्वन्द्व सम्बन्धि कानून तत्काल बनाउन पनि उनको माग छ ।

