हङकङसँग नेपाल फराकिलो अन्तरले पराजित

काठमाडौं, २६ फागुन । हङकङ भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज हङकङसँग भएको फ्रेन्डसिप कप टी-२०आई खेलमा हार व्यहोरेको छ । हङकङले नेपाललाई ७३ रनले हराएको हो ।

जीतका लागि २१३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २० बल अगावै १३९ रनमा अलआउट भयो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए । त्यस्तै आरिफ शेखले ३८ तथा कप्तान रोहित पौडेलले ३० रन बनाए । गुल्शन झा ८, राशिद खान ३, ओपनर कुशल भुर्तेल, सन्दीप जोरा र आकाश चन्द २-२ रनमा आउट भए । नेपालको अन्तिम विकेट रनआउटको रुपमा गुम्दा बाँकी सबै विकेट क्याचआउटको रुपमा गएको थियो ।

एक समय नेपाल १० ओभरमा १०४-२ को बलियो अवस्थामा थियो । ११७ रन हुँदा कप्तान रोहित आउट भएपछि नेपालको नाटकीय पतन सुरु भयो । ११७ रनबाट नेपालले २२ रन जोड्दा बाँकी ८ विकेट गुमायो । तीन ब्याटरबाहेक अन्यले दोहोरो अंकमा रन जोड्नै सकेनन् । हङकङका लागि एइजाज खानले ४ विकेट लिए भने एहसान खानले ३ विकेट लिँदा नसरुल्ला राना र अतिक इकबालले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनायो । हङकङका लागि बाबर हायातले ४९ बलमा ११० रनको शानदार शतकीय पारी खेले । टी२०आई करियरको दोस्रो शतक प्रहार गर्ने क्रममा उनले ३ चौका र १३ छक्का प्रहार गरे । अन्शुमन राथले ३९ तथा मार्टिन कोट्जीले ३१ रन बनाए ।

नेपालका लागि डेब्यु गरेका आकाश चन्दले ३ विकेट लिए भने आरिफ शेख, प्रतिश जिसी र राशिद खानले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय