नेपालले आज हङकङसँग फ्रेन्डसिप कप टी-२०आई खेल्दै

काठमाडौं, २६ फागुन । हङकङ भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज हङकङसँग फ्रेन्डसिप कप टी-२०आई खेल खेल्दै छ । खेल विहान सवा ११ बजेदेखि सुरु हुने छ । खेलको प्रत्यक्ष प्रसारण आइसिसी टिभी र युट्युबमा क्रिकेट हङकङको च्यानलमार्फत हेर्न सकिनेछ ।

नेपाल, हङकङ र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिदेशीय टी-२०आई श्रृंखलाभन्दा अघि यस खेल खेल्न लागिएको हो । भोलिदेखि १३ मार्चसम्म नेपाल, पिएनजी र हङकङले टी-२० श्रृंखला खेल्ने छन् ।

यस श्रृंखलाका लागि १४-सदस्यीय नेपाली टोली बिहिबार हङकङ प्रस्थान गरेको थियो । भर्खरै सम्पन्‍न लिग २ र टी२० श्रृंखला खेलेका आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल शाहलाई आराम दिइएको छ भने लोकेश बम र आकाश चन्द टोलीमा समावेश छन् । त्यसैगरी रोहित पौडेल, कुशल भुर्तेल, गुल्शन झा, आरिफ शेख, बिबेक यादव, करण केसी, विनोद भण्डारी, अविनाश बोहरा, सन्दीप जोरा र प्रतिश जिसीले निरन्तरता पाएका छन् ।

आगामी टी-२० विश्‍वकपको तयारी स्वरुप यस श्रृंखला खेल्न लागिएको हो । टी-२० विश्‍वकपमा पिएनजी पनि खेल्दै छ । नेपालले मार्च १० मा टी२०आई श्रृंखलाको पहिलो खेलमा हङकङसँग, मार्च ११ मा दोस्रो खेलमा पिएनजीसँग खेल्ने छ । मार्च १३ मा शीर्ष २ टोलीले फाइनल खेल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय