महाशिवरात्री : पशुपतिमा ४ हजार प्रहरी परिचालन

काठमाडौं, २४ फागुन । भोलि परेको महाशिवरात्रि पर्वका लागी पशुपति क्षेत्रमा मात्र ४ हजार भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ। प्रहरीले सार्वजनिक गरेको सुरक्षा योजना अनुसार तीन सिफ्टमा प्रहरी परिचालन गरिने र मोबाइल गस्तीदेखि ड्रोनको निगरानी समेत राखिने छ।
पशुपतिनाथ मन्दिर परिसरमा मेला लाग्ने र मेलामा स्वेदेशी तथा विदेशी भक्तजनहरूको अत्यधिक भीड हुने भएकाले सो क्षेत्रमा शान्ति सुरक्षा तथा सवारी व्यवस्थापन गर्न ती सुरक्षाकर्मी खटिने छन् । काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार सुरक्षा योजना शनिबारसम्म लागू हुनेछ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरी मातहत उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ,उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन र जिल्ला प्रहरी परिसर काठमाडौ समेत भई संयुक्त रूपमा तयार पारिएको एकीकृत सुरक्षा योजना अनुरूप पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा प्रदान गरिनुका साथै सवारी व्यवस्थापन गरिने छ ।
शिवरात्री मेला समाप्त नभएसम्म प्रहरी उपरीक्षक नवराज अधिकारीको कमान्डमा प्रहरी परिचालन गरिनेछ । मेलामा कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती स्टाइकिङ, ड्रोन, सिसिटिभी क्यामेरा, बडी वर्न क्यामेरा लगायतका प्रविधिमार्फत निगरानी गरिनेछ ।
त्यस्तै नेपाल प्रहरी अस्पतालबाट चिकित्सकसहितको एम्बुलेन्स रहनेछ । आपत विपद् आई परेमा तालिम प्राप्त उद्धारकर्मीलाई रिजर्भमा राखिएको छ । मेलामा तीन सिफ्टमा ३ हजार ७२ जना सुरक्षाकर्मी परिचालन हुनेछ । जसमा २ हजार १५७ जना पुरुष र ९१५ जना महिला सुरक्षाकर्मी खटाइनेछ । त्यस्तै, सादा पोसाक, सञ्चार, ड्रोन अपरेटर, ट्राफिक व्यवस्थापन गरी ४ हजार ९४ जना सुरक्षाकर्मी परिचालन गरिनेछ ।

