गठबन्धन टुट्नु कांग्रेसको लागि वरदान-डा.शशांक

विराटनगर, २४ फागुन । नेपाली काङ्ग्रेसका नेता डा.शशांक कोइरालाले माओवादीसँगको गठबन्धन टुट्नु आफ्नो पार्टीका लागि वरदान भएको बताएका छन् । डा.शशांकले गठबन्धन टुटेकोमा आफु खुसी भएको समेत प्रतिक्रिया दिएका छन् । उनले कसैको आशीर्वादमा गठबन्धन टुटेको हुनसक्ने समेत बताए। ‘जे भयो राम्रो भयो, कांग्रेसको लागी वरदान भयो’-उनले भने-,’यसबाट कोही आत्तिनुपर्ने छैन। मलाई सोध्नुहुन्छ भने म त एकदम खुसी छु।’
विहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्नेमा समेत जोड दिए। उनले कांग्रेस सधैँ एक्लै लड्नुपर्ने समेत औँल्याए ‘गठबन्धन टुट्नु सत्तावादीको खेल हो’-उनले भने,-‘ प्रचण्ड र ओलीज्यू (उहाँहरूले) ले पहिला गठबन्धन गर्नुभयो । फेरि हामीतर्फ आउनुभयो । मलाई लाग्छ यो एउटा वरदान हो । अब हामी पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्छ । प्रतिपक्षमा मात्रै बसेर कडा भूमिका निर्वाह गर्नुपर्छ । गठबन्धन टुटेकोमा म खुसी मात्र छैन उहाँहरुले कसैको आशीर्वाद पाएको हो कि भन्ने पनि लागेको छ । मेरा लागि यो लुकेको एउटा खुसी चाहिँ हो ।’
उनले विगतमा मिलेर गरिएको काम गलत भएको भन्दै अब एक्लै लड्नुपर्नेमा नेताकार्यकर्ता तयारीमा लाग्न समेत आग्रह गरे । उनले भने, ‘म बीपी कोइरालाको छोरा भएको हुनाले म भन्छु कुनै पार्टीसँग पनि हामी मिल्नु हुँदैन । विगतमा जसरी मिलेका थियौँ त्यो गलत भयो हामी एक्लै लड्नुपर्छ । हामीले स्थापना गरेको कम्युनिस्ट पार्टी हो र हाम्रै मातहतमा आउँछन् ।’

