क्षमता विकास तथा उद्घोषण तालिम शुरु

काठमाडौ,२४ फागुन।काठमाडौ महानगरपालिका-६ बौद्ध महाङ्काल स्थित सक्रिय आमा समूहको आयोजनामा पाँच दिने क्षमता विकास तथा उद्घोषण तालिम सुरु भएको छ ।

महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित वडा नम्बर-६ को सहयोगमा तालिम सञ्चालन गरिएको हो । पाँच दिनसम्म सञ्चालन हुने तालिममा सक्रिय आमा समूह अन्तर्गतका ४० जना महिलाको सहभागिता रहेको छ।

तालिममा उद्घोषणकला, व्यक्तित्व तथा नेतृत्व विकास र सकारात्मक सोच एवं सामाजिक संजाल प्रयोग गर्दा ध्यानदिनुपर्ने सम्बन्धी विषयमा सिकाइने छ। तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रुद्र भट्ट र प्रशिक्षक बिमला दासले तालिमको सहजीकरण गरिरहेका छन् ।

तालिमको उद्घाटन सत्रमा बोल्दै वडा अध्यक्ष भुवन लामाले महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा जोड दिने उदेश्यले गरिएको कार्यक्रमबाट आफू खुशी भएको बताए। उनले हरेक क्षेत्रमा महिलाहरुको उपस्थिति बढाउन आवश्यक रहेकोमा जोड दिँदै महिलालक्षित कार्यक्रममा वडा मार्फत आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

यहाँका महिला दिदीबहिनीको कामको प्रशंसा गर्दै वडा अध्यक्ष लामाले सक्रिय आमा समूहले आफुलाई पनि गुन लगाएको र त्यो गुन नबिर्सने बताए।’तपाईंहरुको गुन मैले बिर्सेको छैन,टोलको समृद्धि,बिकास र तपाईंहरुको समूहको क्षमतावृद्धिका लागि ब्यक्तिगत र कार्यालयको सधैं सहयोग हुनेछ’-उनले भने,’तपाईंहरुकै सुझाव र सल्लाहलाई वडा नम्बर ६ र सिङ्गो महानगरले मार्ग दर्शनको रुपमा लिनेछ।’

तालिम संयोजक मेनुका पौड्यालको अध्यक्षता र संस्थाकि सदस्य शोभा कार्कीले संचालन गरेको उद्घाटन कार्यक्रममा सक्रिय आमा समूहकि अध्यक्ष नानु दाहालले तालिमको आवश्यकता र औचित्य बारे जानकारी गराएकी थिइन। उनले तालिम सम्पन्न भएपश्चात आफ्नो समूहका महिला दिदीबहिनीको क्षमता बिकास भएर अझै हौसला बढ्नेमा आशावादी भएको सुनाइन् ।

कार्यक्रममा संगम टोल सुधार समाजका अध्यक्ष तेजबहादुर बिष्टले सक्रिय आमा समूहले गरेको यो कार्यलाई आफ्नो पनि साथ र सहयोग रहने प्रतिबद्धता सहित तालिम सफलताको शुभकामना दिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय