जन्तीलाई खानामा माछा नदिँदा बेहुला सहित जन्ती फिर्ता

पर्सा, २३ फागुन । पर्सामा एउटा बिहेमा जन्तीले माछा खान नपाएपछि बेहुली नलिई बेहुला र जन्ती फिर्ता भएका छन् । जन्तीले खाना खाने बेलामा माछा नदेखेपछी विवाद र झगडासँगै कुटाकुट समेत भएको थियो ।

माछा नभएको खाना खुवाउन लागेको भन्दै बिवाद भएपछी बिहे रद्द गरि बेहुला फर्किएको र जनप्रतिनिधिले विवाद मिलाउने प्रयास गर्दा समेत नमिलेपछि जन्तीले भोज बहिष्कार गरेर खाली हात फिर्ता गएको बुझिएको छ।

पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका-४ को मधवल गाउँमा सखुवा प्रसौनी गाउँपालिकाबाट सोमबार राती आएको जन्तीलाई माछा नखुवाएको भन्दै बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बेहुली नलिईकन बेहुलासहितको जन्ती फिर्ता गएको स्थानीयले बताए। जन्ती फिर्ता गएको बारे प्रहरीले समेत अनुसन्धान गरि पुष्टि गरेको छ ।

जन्तीमा आएकाहरुले खानामा माछा नपाएको कारण भनाभन हुँदै घटना कुटपिट सम्म पुगेको थियो । कुटापीटमा बेहुलाका बुबा नै घाइते भएको बुझिएको छ।कुटपीटपछि जन्ती भागेका थिए । जन्ती भागेको देखेर बेहुली पक्षका मानिसहरुले बेहुलालाई घरमै थुनेर राखेका थिए । घटनाको खबर पाएर तत्काल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर मोहन विक्रम केसीको कमाण्डमा गएको टोलीले बेहुलाको उद्दार गरी फिर्ता पठाएको स्रोतको भनाइ छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय