चलचित्र ‘काँडेतार’को भब्य प्रीमियर

काठमाडौं,२३ फागुन । दर्शकले प्रतीक्षा गरेको र देशप्रेमको भावना झल्किने वास्तविक नेपाली चलचित्र ‘काँडेतार’ को काठमाडौमा भब्य प्रीमियर गरिएको  छ।

अभिनेता समेत रहेका नवल खड्काद्वारा निर्देशित चलचित्र ‘काँडेतार’को प्रीमियर शोमा विभिन्न राजनीतिक दलका नेता सहित कलाकार,संचारकर्मी र सामाजिक अभियान चलाइरहेका ब्यक्तिहरु उपस्थित रहे।

सधैं देशप्रेमको कथामा चलचित्र निर्माण गर्ने अभिनेता खड्काकै लेखनमा बनेको यो चलचित्रले देशको सीमामा काँडेतार लगाउनुपर्छ भन्दै नेपालीको स्वाभिमान झुक्न दिन हुन्न भन्ने  आवाजलाई सशक्त ढंगले उठाएको छ । जमलस्थित विश्वज्योती सिनेप्लेक्समा आयोजित प्रीमियर शोमा उपस्थित भएर चलचित्र हेरेपछि राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा चलचित्रकर्मीहरुले फिल्मले दिन खोजेको सन्देशको प्रशंसा गरे ।

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपा मालेका महासचिव पूर्वमन्त्री सीपी मैनाली, चर्चित अधिवक्ता स्वागत नेपाल, प्राध्यापक डा.सुरेन्द्र केसी लगायत थुप्रै ब्यक्तिहरुले चलचित्रले सिमा समस्या र नेपालीले भोग्नुपरेको पिडाको साथै सिमा मिच्ने र राष्ट्रियता थिच्ने छिमेकीको हेपाहा प्रवृत्ति बारे जोडदार रुपमा बिषय उठान गरेकोमा चलचित्रको प्रशंसा गरे।

यही शुक्रबार अर्थात फागुन २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रलाई नेपाल चलचित्र विकास बोर्डले बिशेष चलचित्र भनेर पुरस्कृत समेत गरिसकेको छ।

चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवल आफैंले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’ को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य निर्देशन छ । चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय