त्रिदेशीय टी-२० श्रृंखलाको उपाधि नेदरल्यान्ड्सलाई

फाइनलमा नेपाल पराजित

काठमाडौं, २२ फागुन । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको उपाधि नेदरल्यान्ड्सले जितेको छ । मङ्गलबार भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो ।

नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । नेदरल्यान्ड्सका माइकल लेभिटले अर्धशतकीय पारी खेले । उनले २९ बलमा ६ चौका र ३ छक्काको मद्दतले ५४ रन बनाए । त्यस्तै साइब्रान्ड एङ्गलब्रेटले २९ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाए । टिम भान डेर गुग्टेनले विजयी छक्का प्रहार गर्दै ५ बलमा २१ रनमा अविजित रहे ।

नेपालका कुशल मल्लले ३ ओभरमा ३३ रन दिएर ४ विकेट लिए । त्यस्तै अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे । अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा भान डर गुग्टेनले चौका र छक्का प्रहार गर्दै टोलीलाई जीत दिलाए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । ३७ बल खेलेका उनले एक चौका र तीन छक्का प्रहार गरे । त्यस्तै गुल्शन झाले ३४, कप्तान रोहित पौडेलले २५ र ओपनर कुशल भुर्तेलले २० रन बनाए ।

कुनै समय १७ ओभरमा १५८-४ को अवस्थामा रहेको नेपालले त्यसपछि १० रन जोड्दा ४ विकेट गुमाएपछि १६८-८ को अवस्थामा पुगेको थियो, त्यहाँबाट नेपालले थप १६ रन जोड्यो । कुशल मल्ल, गुल्शन झा र करण केसी आउट भएसँगै नेपाल विशाल योगफल खडा गर्नबाट भने चुक्यो ।

नेदरल्यान्ड्सका लागि फ्रेड क्लासेनले ४ ओभरमा ३७ रन दिएर २ विकेट लिए । त्यस्तै टिम भान डर गुग्टेन, माइकल लेभिट र साइब्रान्ड एङ्गलब्रेटले २-२ विकेट हात पारे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय