जेब्रा क्रसिङमै बसले ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु

चितवन, २२ फागुन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको ज्यान गएको छ । भरतपुर-७ माछापुच्छ्रे चोकमा सोमबार साँझ ७ः४५ बजे भरतपुरबाट माडी जाँदै गरेको ना४ख ५८१५ नम्वरको बसले सोही ठाउँका ९ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
जेब्रा क्रसिङमा बाटो काट्दै गरेका बालकलाई विपरित लेनबाट आएर बसले ठक्कर दिएको स्थानीयवासीको भनाई छ । बालकलाई ठक्कर दिएपछि बस कुदाएर भाग्न खोजेका चालक विकास कार्कीलाई प्रहरीले केही परबाट नियन्त्रणमा समेत लिएको छ । बस भगाउने क्रममा अनियन्त्रित हुँदा बसमा सवार एक महिला घाइते भएकी छन् ।
चालकको चरम लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले बालकको शव उठाउन मानेका छैनन् । लामो समय तनावग्रस्त बनेको उक्त क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

