रविले पाएनन् गृहमन्त्री ! अर्थ र गृह बाहेक अन्य रोज्न आग्रह

काठमाडौ, २२ फागुन । नयाँ गठबन्धन बनेसँगै दलहरू बीच पुनः मन्त्रालय बाँडफाँडमा कुरा अड्केको छ। पहिलो चरणमा गठबन्धन भित्र अटाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) दुवैले रोजेको मन्त्रालय नपाउने भएका छन् ।
रास्वपा सभापति रवि लामिछाने आफैं सरकारमा जाने भएपछि उनले गृह मन्त्रालय मागेका छन् भने जसपा अध्यक्ष उपेन्द्र यादवले भौतिक योजना वा परराष्ट्र मन्त्रालयमा दाबी गरेका छन् । तर, यी दुवै नेताले रोजेको मन्त्रालय पाउने संभावना छैन।
स्रोतका अनुसार, अर्थ मन्त्रालय नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र गृह मन्त्रालय एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दिने निश्चित जस्तै छ। पुन र पौडेलकै मेहनतबाट यो गठबन्धन निर्माण भएको छर्लङ्ग छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कन्भिन्स गरेर मिलाउने श्रेय पौडेल र पुनले पाएका छन् । पौडेल ओलीका प्रिय र पुन प्रचण्डका प्रिय पनि हुन् ।
यसअघिको गठबन्धनमा कांग्रेसलाई अर्थ मन्त्रालय दिँदा प्रधानमन्त्री प्रचण्डले धेरै दु:ख पाएको भन्दै अर्थमा वर्षमान रोजेका हुन् । यसैगरी विगतमा गृहमन्त्री हुँदैमा दोहोरो नागरिकता विवादमा परेका रविको छविका कारण गृहमा उनलाई लैजान नसकिनेमा ओली-प्रचण्ड सहमत छन् ।
गृहमन्त्री र अर्थमन्त्री एमाले र माओवादीले लिने मात्रै होइन व्यक्ति नै तोकिसकिएको कारण रविले गृह पाउने संभावना नभएको स्रोतको भनाइ छ। यद्यपि रविले भने आफुलाई गृह नै दिन आग्रह गरिरहेका छन् । रास्वपाले भौतिक यातायात तथा पुर्वाधार मन्त्रालय पाउने संभावना भने बढी छ। यदि यो मन्त्रालय पाउदा रवि आफुले लिन्छन् वा अहिले मन्त्री नियुक्त भएर बसेका डिपि अर्याललाई दिन्छन् त्यो भने हेर्न बाकी छ।
स्रोतका अनुसार अबको मन्त्रीमण्डल बिस्तारमा गृहमा बिष्णु पौडेल,अर्थमा बर्षमान पुन,भौतिकमा रवि लामिछाने र परराष्ट्रमा उपेन्द्र यादब सहभागी हुने करिब करिब टुंगो लागेको छ। त्यसैगरी गठबन्धनमा बस्ने नबस्ने अनिर्णयको बन्दी बनिरहेका नेकपा एकीकृत समाजवादी र जनमत,नागरिक उन्मुक्ति र लोसपालाई पनि सरकारमा सहभागी हुन आग्रह गरिएको छ।

