नयाँ गठबन्धन लक्षित बाबुरामको टिप्पणी : ‘इनफ इज इनफ’

काठमाडौ। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री समेत रहेका आफ्ना पुर्व सहकर्मी क.प्रचण्ड र नयाँ गठबन्धनलाई लक्षित गरि खरो टिप्पणी गरेका छन् ।

डा.भट्टराईले सत्ता लिप्साका निम्ति पटकपटक मञ्चन हुने फोहोरी खेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्नुका साथै प्रतिगमनको आधार तयार पार्ने खतरा बढेको भन्दै ‘किस्सा कुर्सीका’ ले केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भयो भन्दै व्यङ्ग्य गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली ‘किस्सा कुर्सीका’ ले केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो! केही चतुरहरूको निकृष्ट सत्तालिप्सा निम्ति पटकपटक मञ्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने,जनता र नयाँ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्ने भयो।’

उनले अझै थप लेखेका छन्-नाङ्गो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसँग जोडेर उल्टै ‘ठुलो उथलपुथल’ भन्ने प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको समेत आलोचना गरेका छन् । ‘केही निरीह सांसदको पोको बोकेर एउटासँग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षानिम्ति’ भन्ने अनि केही महिनाभित्र अर्कोसँग घाँटी जोड्दा ‘ वामपन्थी/कम्युनिस्ट एकतानिम्ति’भन्ने ! यस्तो नाङ्गो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसँग जोडेर उल्टै ‘ठुलो उथलपुथल’ भन्ने! बिचरा सोझा कार्यकर्ता किंकर्तव्यविमूढ बनेर मन लागिनलागी ताली ठोक्ने! यो प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ को नयाँ संस्करण नभए के हो? अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्यमान्यता बाँकी रहेकाहरूले भन्नैपर्छ – अब अति भो! Enough is Enough!’ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय