सत्ता गठबन्धन संकटमा, राष्ट्रिय सहमतिको सरकार बन्ने

काठमाडौं, २१ फागुन । राष्ट्रियसभा निर्वाचनदेखि प्वाल परेको सत्ता गठबन्धनको डुङ्गा केही दिनमा डुब्ने निश्चित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य लामो जादैन भन्न थालेदेखि एमालेले ‘ढोक्सा’ थाप्न सुरु गरेको थियो। त्यसको सुरुवात प्रचण्ड पुत्री रेनु दाहाल मेयर रहेको भरतपुर महानगरपालिका ‘भ्रमण वर्ष-२०२४’को उद्घाटन मै एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति र प्रचण्डसँगको कानेखुसीले देखायो।
सत्ताको लागि जुनसुकै गठबन्धन बनाउन र भत्काउन सिपालु प्रधानमन्त्री प्रचण्ड एमालेकै समर्थनमा प्रधानमन्त्री भएका थिए । चुनावमा कांग्रेस सहितको गठबन्धन बनाएका प्रचण्ड प्रधानमन्त्री बन्न एमालेसँग गठबन्धन गरे भने एक महिना नपुग्दै पुनः एमालेसँग सहकार्य तोडेर पुरानै गठबन्धनमा फर्किए ।
२०७९ पुस १० यता प्रचण्ड प्रधानमन्त्री छन् । पुस १० मा बनेको गठबन्धन २०७९ फागुनको राष्ट्रपति निर्वाचनसम्म भत्किइसकेको थियो। जसमा प्रचण्डले एमालेलाई धोका दिएर राष्ट्रपतिमा कांग्रेसलाई सघायो।
अहिले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने समयमा पुनः प्रचण्ड काङ्ग्रेस संग गठबन्धन तोड्ने मनस्थितिमा देखिन्छन् । जसको लागि उनले काङ्ग्रेस महासमिति बैठकमा प्रस्तुत भएको प्रस्तावलाई लिएर निहुँ खोजिरहेका छन् । उनको यो निहुँ खोजाइ केबल काङ्ग्रेसलाई राष्ट्रिय सभाको अध्यक्षमा रोक्नका लागि मात्रै हो।
यसैबीच राष्ट्रियसभाको अध्यक्षको लागि २९ फागनुमा हुने निर्वाचनमा उम्मेद्वार टुँगो लगाउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच खटपट सुरु भएको देखाइएको छ । यहि बहानामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेसँग समानान्तर छलफल चलाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार राति महासचिव शंकर पोखरेललाई लिएर बालुवाटार पुगेका थिए। त्यहाँ केही खिचडी पाक्दैछ भन्ने थाहा पाएपछि कांग्रेसले पनि छलफल चलाएको छ। आइतबार बेलुकी पार्टी सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी आफ्ना दलका मन्त्रीहरुसँग छलफल गरेका छन् । त्यसमा प्रचण्सले सत्ता गठबन्धन भत्काउन लागेको बारे कुरा भएको थियो ।
प्रधानमन्त्रीले सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक समेत डाकेका छन् । यो गठबन्धनको लागि यही बैठक अन्तिम हुनसक्छ । त्यसको संकेत प्रधानमन्त्रीले परराष्ट्र मन्त्री एनपी साउतको विदेश भ्रमण रोकेर दिइसकेका छन् । आइतबार राति फिनल्यान्ड भ्रमणमा जान लागेका परराष्ट्र मन्त्री साउदको भ्रमण प्रधानमन्त्रीले आकस्मिक रुपमा स्थगित् गर्न दबाब दिएका थिए। फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन मन्त्री साउद त्यसतर्फ जाने कार्यक्रम थियो ।
उता प्रधानमन्त्री प्रचण्डले एक दुई दिन भत्रै यो मन्त्रीपरिषद विघटन हुने समेत भनेका छन् । पार्टीका केही नेतासँग गोप्य कुराकानी गर्दै प्रचण्डले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने समेत संकेत गरेका छन् । प्रधानमन्त्रीले वर्तमान सत्ता साझेदार गठबन्धन दलभित्र देखिएका केही समस्याका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने भन्दै नेता बर्षमान पुन,देव गुरुङ,अग्नि सापकोटा लगायतसँग छलफल गरेका छन् । त्यसैको परिणाम बर्षमान पुन एमालेसँग छलफलमा जुटेका थिए।
प्रधानमन्त्रीको गठबन्धन भत्काउने र बनाउने खेललाई धेरैले रुचाएका छैनन् । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी र मधेसवादी दललाई पनि प्रचण्डले राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन भनेका छन् । स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछाने पनि प्रधानमन्त्री प्रचण्ड संग संवादमा छन् ।

