चितवन घटनाको पोष्टमार्टम रिपोर्ट : मृत्यु झुण्डिएर भएको हो !

चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनमा अध्यनरत छात्रा सालिन पोख्रेलको मृत्यु झुन्डिएरै भएको पोष्टमर्टम रिपोर्टले देखाएको छ।
गत फागुन १२ गते सालिनलाई स्कुलको होस्टलमा झुन्डिएको अवस्थामा मृत फेला पारिएको थियो। रत्ननगर नगरपालिका वडा नम्बर-१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बसेर अध्यन गरिरहेकी १४ वर्षीया सालिनको मृत्युमा अनेक शंका उब्जिएपछि पोष्टमार्टमको लागि उनको शव काठमाडौ ल्याइएको थियो।
उनको बुबाले छोरीको मृत्यु संकास्पद रहेको भन्दै चितवनमा नभै काठमाडौमा पोष्टमर्टम गर्न आग्रह गरेका थिए। उनको आग्रहपछि काठमाडौमै गरिएको पोष्टमार्टमको रिपोर्ट अनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको स्रोत भनाइ छ। यद्यपि यसको पुष्टि प्रहरीले गर्न बाकी छ।
उनको मृत्युपछि आफन्तले आत्महत्या नभै हत्या र बलात्कार भएको भन्दै आएका थिए। त्यतिमात्र होइन परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले प्रधानाध्यापकसहित तीन जनालाई पक्राउ समेत गरेको छ।
काठमाडौ महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टममा डा. गोपाल चौधरीसहितको टोली खटिएको थियो।पोष्टमार्टम रिपोर्टपछि अब उनले लेखेको भनिएको सुसाइट नोटको पनि परीक्षण भैरहेको छ। त्यसको रिपोर्ट भने आउन बाकी छ।

