त्रिदेशीय टी-२०आई सिरिजमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं, २० फागुन । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२०आई श्रृंखलाको अन्तिम खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल विहान साढे ११ बजेदेखि सुरु हुने छ ।
नेपाल यस सिरिजको फाइनलमा प्रवेश गरिसकेको छ भने आजको खेलपछि अर्को फाइनलिस्टको टुङ्गो लाग्ने छ । नेदरल्यान्ड्सकै सम्भावना बलियो देखिन्छ किनभने नामिबियासँग सामान्य अन्तरको हारले पनि नेदरल्यान्ड्स फाइनलमा स्थान पक्का गर्न सक्ने छ । नामिबियालाई भने विशाल जीतको आवश्यकता पर्ने छ ।
नेपाल सुरुका २ खेलमा नामिबियासँग क्रमशः २० रन र २ रनले पराजित भएको थियो भने त्यसपछिका दुई खेलमा जित निकाल्दै ४ अंक र नेट रनरेटमा सुधार गर्दै फाइनलमा पुगेको छ । फाइनल खेल मङ्गलबार हुने छ ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ को श्रृंखला सकिएसँगै यिनै तीन टोलीले आउँदै गरेको टी२० विश्वकपको तयारी स्वरुप टी-२० श्रृंखला खेलेका हुन् । आगामी जुनमा हुने टी२० विश्वकपमा नामिबिया र नेदरल्यान्ड्स पनि खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा समेत रहेका छन् ।

