नेदरल्यान्ड्सलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं, १९ फागुन । नेपाली क्रिकेट टोली काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहित पौडेलले ३४ बलमा ४६ रन बनाए भने गुल्शन झाले ३८ रन बनाए । नेदरल्यान्ड्सका भिभियन किङ्‍माले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १२० रन बनायो । उसका लागि ओपनर म्याक्स ‌डाउडले सर्वाधिक ३१ रन बनाए । त्यस्तै टिम भान डर गुग्टेनले २४ रन बनाउँदा रोलफ भान डर मर्वा २३ रनमा अविजित रहे ।

नेपालका लागि प्रतिश जिसीले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए । कुशल मल्लले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए । करण केसीले ३ ओभरमा १३ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय