त्रिदेशीय टी-२०आई श्रृंखला: नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं, १९ फागुन । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा हुने खेल विहान साढे ११ बजेदेखि सुरु हुने छ ।
यसअघि बुधबार भएको पहिलो भिडन्तमा नेपाल नेदरल्यान्ड्ससँग २ रनको झिनो अन्तरले पराजित भएको थियो । त्यसअघि नामिबियासँग भएको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको थियो । शुक्रबार भएको खेलमा भने नेपालले नामिबियालाई ३ रनले हरायो ।
फाइनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नैपर्ने हुन्छ । यदि आज पराजित भएमा नेपाल अन्य नतिजामा भर पर्नुपर्ने हुन्छ । नेपालको ३ खेलमा २ अंक छ । नामिबियाको पनि ३ खेलमा २ अंक छ । नेदरल्यान्ड्सले २ मध्ये २ खेल नै जित्दै ४ अंक जोडेर फाइनलमा लगभग स्थान पक्का गरिसकेको छ ।
आज नेपालले नेदरल्यान्ड्सलाई हराएमा नेपालको ४ खेलमा ४ अंक हुने छ । त्यसपछि आइतबार हुने खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई हराएको खण्डमा सबै टोलीको ४ ४ अंक हुने छ र रनरेटका आधारमा शीर्ष २ छानिने छन् । यस्तै आज नेपाल विजयी भएर आइतबार नेदरल्यान्ड्स विजयी भएमा नेपाल र नेदरल्यान्ड्सले फाइनल खेल्ने छन् । आजको खेलको नतिजाले सिरिजमा थप रोमाञ्चकता थप्ने छ ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ को श्रृंखला सकिएसँगै यिनै तीन टोलीले आउँदै गरेको टी२० विश्वकपको तयारी स्वरुप टी२० श्रृंखला खेलिएको हो । आगामी जुनमा हुने टी-२० विश्वकपमा नामिबिया र नेदरल्यान्ड्स पनि खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा समेत रहेका छन् ।

