प्रधानमन्त्रीले मन्त्रीहरु बदल्ने, देउवा र नेपाल पनि सहमत !

काठमाडौं, १९ फागुन । सत्ता गठबन्धनमा खटपट सुरु भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘काँध फेर्न सक्ने’ संकेत गरेपछि शीर्ष नेताहरू मन्त्रीपरिषद् फेरबदल गर्न सहमत भएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न ‘ग्रीन सिङ्नल’ दिइसकेका छन् । शिर्ष नेताहरू सहमत भएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्री फेर्न गृहकार्य अगाडि बढाएको स्रोतको भनाइ छ।
केही विवादित मन्त्रीलाई बर्खास्त गर्न समेत तयारी गरेका प्रधानमन्त्रीले अबको केही दिनमै मन्त्रीहरू फेरबदल गर्ने बुझिएको छ। खासगरी केही मन्त्रीहरुलाई नहटाएसम्म सदन समेत चल्न नदिने देखि आन्दोलन नै सुरु हुने अवस्था आएको भन्दै प्रधानमन्त्रीले गठबन्धनका सहयात्री नेताहरूसँग छलफल गरेका थिए। तर, नेपाली कांग्रेसको महासमिति बैठक सम्म मन्त्री परिवर्तन नगर्न नेपाली कांग्रेसका सभापति देउवाले आग्रह गरेपछि मन्त्रीहरुको पद जोगिएको थियो।
प्रधानमन्त्रीले स्वास्थ मन्त्री मोहनबहादुर बस्नेत र भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त नै गर्ने समेत तयारी गरेका थिए। त्यसैगरी पर्यटन मन्त्री सुदन किराँती र अर्थमन्त्री डा.प्रकाश शरण महतको काम पनि चित्तबुझ्दो नभएको प्रधानमन्त्रीको बुझाइ छ।
स्रोतका अनुसार अबको मन्त्री परिषद फेरबदल हुँदा अहिलेका धेरै मन्त्री बिदा हुनेछन् । साथमा राष्ट्रिय सभाको अध्यक्ष कसले लिने भन्ने कुराले पनि मन्त्री फेरबदलमा असर पार्नेछ। यदि राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिएको अवस्थामा कांग्रेसबाट कृष्ण सिटौलालाई उपप्रधान सहित गृहमन्त्री बनाउने र नारायणकाजी श्रेष्ठलाई परराष्ट्र वा रक्षामन्त्री बनाइनेछ। हाल रक्षामन्त्री रहेका पुर्णबहादुर खड्कालाई भने सरकारको जिम्मेवारीबाट हटाएर पार्टीमा लगाउने देउवाको तयारी छ।

