नामिबियामाथि नेपालको रोमाञ्‍चक जीत

काठमाडौं, १८ फागुन । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले रोमाञ्‍चक जीत हासिल गरेको छ । नेपालले नामिबियालाई ३ रनले हराएको हो ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो  । नामिबियाका लागि जेजे स्मिटले २९ बलमा ५० रन बनाए । जान फ्रायलिन्कले ३७ रन बनाए भने जेन ग्रीन २३ रनमा अविजित रहे ।

नामिबियालाई अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा बलिङमा आएका करण केसीले एक विकेट लिएर ८ रन मात्र दिए । पछिल्लो ओभरमा महङ्गो साबित भएका उनले फाइनल ओभरमा शानदार बलिङ गर्दै नामिबियालाई दबाबमा राख्दै सुरुवाती ५ बलमा ४ रन मात्र दिए र अन्तिम बलमा चौका भएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २९ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण केसीले ४ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । अविनाश बोहराले १ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अविजित रहँदै ५५ रन बनाए । त्यस्तै आरिफ शेखले ३१ तथा गुल्शन झाले २६ रन बनाए ।

नामिबियाका बेन शिकोङ्गोले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । त्यस्तै ज्याक ब्रासेलले ४ ओभरमा ४५ रन दिएर २ विकेट लिँदा रुबेन ट्रम्पलमेन र बर्नार्ड स्कोल्जले १-१ विकेट लिए ।

फाइनलमा पुग्‍ने सम्भावना कायमै राख्‍न नेपाललाई आजको खेल जित्‍नैपर्ने दबाब थियो । नेपालले अब भोलि नेदरल्यान्ड्ससँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय