भरतपुर भ्रमण वर्षको उद्घाटन आज, प्रधानमन्त्रीलगायत शीर्ष नेता भरतपुरमा
काठमाडौं, १८ फागुन । भरतपुर महानगरपालिकाको आयोजनामा आजदेखि ‘भरतपुर भ्रमण वर्ष-२०२४’ शुरु हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री सहित सबै पुर्व प्रधानमन्त्रीलाई बोलाइएको छ।

कार्यक्रम उद्घाटन गर्न हिजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि भरतपुर पुगेका छन् ।

यसैगरी नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुर्व प्रधानमन्त्री झलनाथ खनाल पनि भरतपुर जादै छन् । एमाले अध्यक्ष ओली हेलिकप्टरमा जाने छन् भने अन्य अतिथिलाई विमानको टिकट व्यवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि दिउँसो १२:३० मा भरतपुर पुग्दैछन्। उनी त्यस क्षेत्रको सांसद पनि हुन् ।
तर, निम्तो पाएर पनि पुर्व प्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा.बाबुराम भट्टराई भने कार्यक्रममा नजाने भएका छन् । उनले आफू पार्टी काममा व्यस्त रहेको भन्दै आउन नसक्ने जानकारी दिएको आयोजकले बताएको छ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु ओली,देउवा,नेपाल र खनाल तथा रास्वपाका सभापतिलाई १०/१० मिनेट र प्रधानमन्त्री प्रचण्डलाई १५ मिनेट शुभकामना मन्तव्यका लागि लागि समय छुट्टाइएको छ ।
त्यसैगरी ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु सहभागी हुने भनिए पनि बक्ताको रुपमा भने बामगती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मरकट्टेललाई मात्रै शुभकामना दिन लगाइने छ ।