चलचित्र क्षेत्रका हस्ती कलाकारहरु सम्मानित

काठमाडौ,१७ फागुन। नेपाली चलचित्र क्षेत्रका थुप्रै कलाकार बिहिवार एकैपटक सम्मानित भएका छन् ।
इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आईएनएनएफ) को पहिलो साधारण सभा तथा अधिवेशनमा उनीहरुलाई सम्मान गरिएको हो। सो अवसरमा नेपाली चलचित्र क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान गरिरहेका पाँच जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । जसमा वरिष्ठ कलाकार नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्कालाई ‘चलचित्र स्वर्णिम सम्मान-२०८०’ ले सम्मान गरियो।
त्यसैगरी रमेश बुढाथोकी, राजकुमार राई, रवीन्द्र खड्का, गौरी मल्ल र करिश्मा मानन्धरलाई ‘चलचित्र विशेष व्यक्तित्व सम्मान-२०८०’ प्रदान गरियो। सम्मानित व्यक्तिहरूलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।
त्यस्तै आजै सम्पन्न संस्थाको अधिवेशनबाट केन्द्रीय अध्यक्षमा लव प्याकुरेल निर्वाचित भएका छन् । उपाध्यक्षमा मानबहादुर थापा, प्रदीप लाल श्रेष्ठ र लक्ष्मण सुवेदी निर्वाचित भए भने महासचिवमा रमेश कोइराला, सचिवमा भीष्मराज फुलारा र कोषाध्यक्षमा ठण्डबहादुर अधिकारी चुनिए ।
सदस्यहरुमा राधेश्याम विश्वकर्मा, गणेश सुवेदी, विनोद चौलागाईं र मधु अधिकारी निर्वाचित भएका छन् । सोही समयमा ‘सीमानाभन्दा परः नेपाली चलचित्र’ विषयक अन्तरक्रिया समेत गरिएको थियो ।

