लेभिट प्रेरित नेदरल्यान्ड्सको नामिबियामाथि शानदार जीत

काठमाडौं, १७ फागुन । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्डस सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको तेस्रो खेलमा नेदरल्यान्ड्सले शानदार जीत हासिल गरेको छ । नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको हो ।
नेदरल्यान्डसले दिएको २४८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो । नामिबियाका लागि जेन ग्रीनले अविजित ४२ रन बनाए । त्यस्तै जान फ्रायलिन्कले पनि ४२ रनको योगदान दिए । त्यस्तै जेपी कोट्जेले २६ रन बनाए ।
नेदरल्यान्ड्सका टिम भान डर गुग्टेन रोलफ भाड डर मर्वेले साइब्रान्ड एङ्गलब्रेटले २ ओभरमा १३ रन दिएर २ विकेट लिए । भिभियन किङ्मा, टिम भान डर गुग्टेन र आरु्यन दत्तले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४७ रनको विशाल योगफल खडा गरेको थियो । त्रिवि क्रिकेट मैदानमा हालसम्मकै सर्वाधिक टी२०आई स्कोर बनाउने क्रममा नेदरल्यान्ड्सका माइकल लेभिटले शानदार शतक प्रहार गरे । ६३ बल खेलेका उनले ११ चौका र १० छक्कासहित १३५ रन बनाए ।
त्यस्तै साइब्रान्ड एङ्गलब्रेट ४० बलमा ७५ रन बनाएर आउट भए । १५ रनमा पहिलो विकेट गुमाएको नेदरल्यान्डसका लागि लेभिट र साइब्रान्ड मिलेर दोस्रो विकेटका लागि १९३ रनको साझेदारी गरेका थिए । नामिबियाका बेन शिकोङ्गोले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए भने रुबेन ट्रम्पलमेनले ४ ओभरमा ४६ रन दिएर २ विकेट लिए । जान फ्रायलिन्कले ४ ओभरमा ५७ रन खर्चेर १ विकेट हात पारे ।
अब आइतबार यी दुई टोलीबीच अर्को खेल हुने छ र त्यसअघि शुक्रबार नेपाल र नामिबिया तथा शनिबार नेपाल र नेदरल्यान्ड्सबीच खेल हुने छ ।

