गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि टेन्डर आह्‍वान

चितवन, १७ फागुन । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कार्य सम्पन्‍न गर्नका लागि टेन्डर आह्‍वान भएको छ । भरतपुर महानगरपालिकाले बिहिबार सूचना जारी गर्दै टेन्डर आह्‍वान गरेको हो ।

धुर्मुश सुन्तली फाउन्डेशनद्वारा निर्माण सुरु भएको रङ्गशाला विभिन्‍न आर्थिक कारणवश निर्माण कार्य बीचैमा रोकिएको थियो । त्यसपछि भरतपुर महानगरले स्वामित्व लिँदै निर्माण कार्य पूरा गर्ने घोषणा गरिएको थियो । घोषणा भएको लामो समयसम्म पनि थप प्रक्रिया सुरु भएको थिएन ।

गत कात्तिक २१ गते बागमति प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा उक्त रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको ७५ करोड रुपैयाँको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत रकम बेहोर्ने सम्झौता भएको थियो ।

महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय