त्रिदेशीय टी-२०आई श्रृंखलामा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं, १७ फागुन । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२०आई श्रृंखलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल विहान साढे ११ बजेदेखि सुरु हुने छ ।
यसअघि मङ्गलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो भने बुधबारको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनको झिनो अन्तरले पराजित भएको थियो ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ को श्रृंखला सकिएसँगै यिनै तीन टोलीले आउँदै गरेको टी२० विश्वकपको तयारी स्वरुप टी-२० श्रृंखला खेल्न लागेका हुन् । आगामी जुनमा हुने टी२० विश्वकपमा नामिबिया र नेदरल्यान्ड्स पनि खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा समेत रहेका छन् ।
राउन्ड रोबिनका आधारमा खेलाइने यस श्रृंखलामा प्रत्येक टोलीले एकअर्कासँग २ खेल खेल्ने छन् । तीन टोलीमध्ये शीर्ष २ ले आगामी मङ्गलबार हुने फाइनल खेल्ने छन् ।

