इटहरीमा प्रादेशिक ललितकला महोत्सव तथा प्रदर्शनी हुने
३०० भन्दा बढी सर्जक एकैठाउँमा भेला हुँदै
इटहरी, १६ फागुन । पुर्वको मुख्य शहर इटहरीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्धारा ‘प्रादेशिक ललितकला महोत्सव तथा प्रदर्शनी’ हुने भएको छ।
कोशी प्रदेशमा पहिलो पटक आयोजना हुने यो कार्यक्रममा झन्डै ३०० सर्जक भेला हुने अनुमान छ। इटहरी स्थित इटहरी मेट्रिक्सको सभाहलमा हुने कार्यक्रम तीन दिनसम्म चल्ने छ।
फागुन २९ देखि सुरु हुने कार्यक्रममा इटहरी उपमहानगरपालिकाले आतिथ्यता गर्नेछ भने झण्डै १ करोड खर्च हुने कलाकार समेत रहेका कार्यक्रमका कोशी प्रदेश उपसंयोजक विक्रम तिम्सिना (विक्रमश्री) ले बताए।
कार्यक्रममा प्रदेश भरिका ललितकलासँग सम्बन्धित सबै विधाहरु जस्तै: चित्रकला, मुर्तिकला, वास्तुकला, फोटोग्राफी, इन्टलेसन अर्थात प्रतिष्थापन, पफर्मिङ, लोककला, हस्तकलालगायत ९ वटा फरकफरक विधामा काम गरिरहेका सर्जकहरुले आ–आफ्ना कलाकृति ल्याएर प्रदर्शनीमा सहभागी हुने छन् ।
यो अवधिमा प्रदेशभरिका कलाकारसँगै रहेर सृजना गर्ने, प्रदर्शनीमा भाग लिने र यहाँ भएका विभिन्न कार्यक्रममा सहभागी हुने भएकोले यसले छुट्टै रौनक समेत थपिनेछ।प्रायः यस्ता कार्यक्रम संघीय राजधानी काठमाडौंमा मात्रै हुने गरेकोमा अब प्रदेश स्तरमा पनि गर्न सकिन्छ र गर्नुपर्छ भन्ने दबाब समेत यो कार्यक्रम सफल भएपछि सरोकारवाला पक्षलाई हुनेछ।
केन्द्रले पुरस्कृत गर्दै आएको रकम र मापदण्डकै आधारमा यहाँको कार्यक्रममा पनि ५० हजार भन्दा तल सबै विधालाई पुरस्कृत गर्ने गरी पुरस्कारको व्यवस्था रहेको छ । फागुन २९ मा उद्घाटन भएपछि ३ दिन तालिका अनुसारको कार्यक्रम हुने आयोजकको भनाइ छ। अन्तरक्रिया कार्यक्रम, सम्मानको कार्यक्रम, दिवंगत र अग्रजहरुलाई सम्मान गर्दै तेस्रो दिन समापनको कार्यक्रम हुनेछ । यद्यपि सर्वसाधारणको लागि भने १० दिनसम्म प्रदर्शनी खुल्ला रहने छ ।

