प्रीति राईको निर्णायक गोलमा नेपाल फाइनलमा

फाइनलमा बलियो टोली जोर्डनसँग खेल्ने

काठमाडौं, १६ फागुन । नेपाली महिला फुटबल टोली साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ । मङ्गलबार राति भएको दोस्रो सेमिफाइनलमा लेबनानलाई २-१ ले गोलअन्तरले हराउँदै नेपालले जोर्डनसँगको उपाधि भिडन्त पक्का गरेको हो।

१-० ले पछि परेको अवस्था उल्टाएर जीत दिलाउन नेपालका लागि साबित्रा भण्डारी र प्रीति राईले एक-एक गोल गरे । लेबनानले भने एक आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको ३८औं मिनेटमा गोलरक्षक अन्जिला सुब्बासँग तालमेल नमिल्दा नेपालले आत्मघाती गोल गर्न पुगेको थियो । पूजा रानाले आत्मघाती गोल गरेकी थिइन् र पहिलो हाफमा नेपाल १-० ले पछि पर्‍यो ।

खेलको ७६औँ मिनेटमा सावित्रा भण्डारीले विपक्षी खेलाडीले पोस्टनजिकैबाट क्लियर गर्न खोज्दै गरेको बललाई पोस्टको दिशा दिएकी थिइन् र नेपाल खेलमा फर्किएको थियो ।

इन्जुरी समयको अन्त्यतिर प्रीतिले डिबक्स बाहिरबाट शानदार गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याइन् । नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय